News Portal

फुटकाे संघारमा सत्तारुढ दल नेकपा

रातोपोस्ट संवाददाता
१०३८ पटक

काठमाडौं,असार २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) मा पार्टी एकताले पूर्णता नपाउँदै फुटको बाटोमा अघि बढेको छ।

शीर्ष नेताहरूबीच नै एक अर्काप्रति आशंका पैदा हुँदा एकता भएको २ वर्षमै एकता संकटमा पुगेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीका विपक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनाललगायत बहुसंख्यक नेताहरूबीच एक आपसमा विश्वासको वातावरण बनाउने भन्दा सत्ता दाउपेचमै केन्द्रित हुँदा नेकपा फुटको संघारमा पुगेको हो।

पार्टी सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत अल्पमतमा रहेका ओलीलाई स्थायी कमिटी बैठकमा अचानक प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि विवाद उत्कर्षमा पुगेको हो।

सरकारमा हुँदा ओली असाध्यै अंहकारी र दम्भी हुनुका साथै पार्टीको निर्णय नमानी एकलौटी निर्णय गर्न थालेको भन्दै नेताहरू असन्तुष्ट थिए। मदन भण्डारी जन्मजयन्तीका उपलक्ष्यमा सरकारका विरुद्ध दिल्ली र काठमाडौंका कोठामा सरकार विरुद्ध नेकपाकै नेताहरू लागी परेको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिएपछि अरु नेताका लागि मसला बनेको थियो।

स्थायी कमिटी बैठकमा निरन्तर नेताहरूले दुवै पदबाट राजीनामा मागेपछि पार्टीदेखि संसदसम्म अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन प्रेसर दिएपछि पार्टीमा फुटको वातावरणले प्रश्रय पाउन थालेको हो।

त्यसपछि ओली आफूलाई अध्यक्ष र प्रधानमन्त्रीबाट मात्रै नभई राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत महाभियोग लगाएर हटाउन सक्ने आशंका पुगेका थिए।

त्यस आशंकालाई पुष्टि हुने गरी शनिबार साँझ मन्त्रीहरूसँगको छलफलमा ओलीले आफूलाई दुवै पदबाट राजीनामा दिन लगाउने मात्र नभई राष्ट्रपतिलाई समेत महाअभियोग लगाएर हटाउन संकेत पाएपछि संसद अधिवेसन अन्त्य गरेको बताए।

तर ओलीको विपक्षमा लागेका अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल झलनाथ खनाललगायत नेताहरु पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउनकै लागि प्रधानमन्त्रीले संसद् अधिवेसन अन्त्य गरेको आशंकाले आतंकित बने।

बालुवाटारमा नै स्थायी कमिटी बैठक पार्टीमा कुनै सल्लाह नै नगरी एकाएक संसद् अधिवेसन अन्त्य गर्नु प्रधानमन्त्रीको कुत्सित मनसाय भएको ओलीइतर नेताको बुझाइ रह्यो।

शनिबार साँझ प्रधानमन्त्रीसँगको छलफलमा सहभागी कृषिमन्त्री घनश्याम भुसालले मनगढन्ते सूचनाले दुवै समूहतिरका शीर्ष नेताहरूलाई गाँजेकाले पार्टी एकता संकटमा पुगेको बताए। तथ्यमा भन्दा ‘फेब्रिकेटेड’ सूचनाले नेताहरूलाई गाँज्दै लग्दा एकता संकटमा परेको भुसालको विश्लेषण छ।

‘प्रधानमन्त्रीज्यूमा पार्टी फुटोस्, कम्युनिस्ट आन्दोलन धराशायी बनोस्, राष्ट्रियता संकटमा परोस् भन्ने मनोविज्ञान मैले देखिनँ। फेब्रिकेटेड सूचनाले दुवै समूहलाई गाँजेको पाएँ। एकले अर्कोप्रति सशंकित हुने, एकले अर्कालाई सिध्याउँछ कि भन्ने मनगढन्ते विश्लेषण गर्ने प्रवृत्तिले पार्टी एकता संकटमा परेको पाएँ,’ कृषिमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य भुसालले भने, ‘वास्तविक रूपमा पार्टीको शीर्ष नेतृत्वले छलफल गरी संकट टार्न सक्छ।

सरकार र पार्टीका विषयमा प्रधानमन्त्रीले राखेको धारणा व्याख्या गर्दा खुमलटार र कोटेश्वरले भनेजस्तो अध्यादेश ल्याएर तत्कालै पार्टी फुटाउने अवस्था अवस्था छैन। शीर्ष नेतृत्व नै सौहार्दपूर्ण वातावरणमा छलफल गरेर निष्कर्ष पुग्न सकिन्छ।’

ओलीले आफूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट र राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउन षड्यन्त्र भइरहेको विषयमा धारणा राखेपछि मन्त्री भुसालले गतल सूचनाको सिकार भएको भन्दै प्रतिवाद गरेको बताए। प्रधानमन्त्री ओलीले पार्टी सङ्कट भएको भन्दै चिन्ता व्यक्त गर्दै पार्टी एक नरहन पनि सक्ने बताएका थिए।

स्थायी कमिटी बैठककै बीच ओलीले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई समेत बालुवाटारमा बोलाएर आफूले पार्टीमा गम्भीर निर्णय लिन लागेकाले साथ दिन आग्रह गरेका थिए। जवाफमा देउवाले आफूले सक्दो सहयोग गर्ने वचन दिएको बालुवाटार स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्