News Portal

बेवारिसे बालिकाकी आमा सम्पर्कमा, यसरी रचिएको थियो नाटक

रातोपोस्ट संवाददाता
१५३४ पटक

काठमाडौं, साउन २० । साउन १३ गते कपनस्थित आकाशेधारा नजिकैको चौरमा एक शिशु भेटियो। चार/ पाँच दिने शिशुलाई कार्टुनमा कपडाले बेरेर राखिएको थियो। नजिकै रहेको ‘केयर बाल गृह’ का बालिकाहरू खेल्न गएका बेला शिशुलाई देखे । गृहकी सञ्चालिका पुष्पा अधिकारीले बालिकालाई लिएर आफ्नो संरक्षणमा राखिन्।

बेवारिसे भेटाएको भन्दै उनीहरूले शिशुको नाम नै प्राप्ति अधिकारी राखिदिए। त्यसपछि भने लत्ताकपडादेखि लिएर आर्थिक सहयोग गर्नेहरूको भीड लाग्न थाल्यो। अन्ततः ती बालिका बेवारिसे नभएर नाटक गरेर त्यहाँ राखिएको भन्ने तथ्य फेला परेको छ।

शिशुको ३८ वर्षीया आमा सम्पर्कमा आएपछि यो सबै नाटक रहेको पत्ता लागेको हो। बेवारिसे फेला परेकी शिशु एकाएक भाइरल भइन्। आफूले जन्म दिएकी छोरीलाई बेवारिसे भनेर प्रचारप्रसार गरिएपछि ती महिलाले मन थाम्न सकिनन्। अन्ततः प्रहरीको सम्पर्कमा आएर उक्त बच्चा आफ्नो भएको स्वीकार गरिन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बच्चाको फोटो तथा भिडिओ भाइरल भएपछि आमा सम्पर्कमा आएको बताए। “आमाको मन नै हो। बच्चालाई बेवारिसे भनेपछि त्यो बच्चा आफ्नो भनेर आउनुभएको छ। यो नाटक रचेर बच्चालाई बेवारिसे बनाइएको रहेछ,” एसएसपी ज्ञवालीले भने।

यसरी रचियो नाटक

वैदेशिक रोजगारीमा रहेकी ती महिला उतै यौन शोषणमा परिन्। यौन शोषणमा परेपछि उनको गर्भ बस्यो। गर्भपतन गराउन सम्भव थिएन। कोरोना महामारीपछि सरकारले विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्न थाल्यो। असारमा उनी पनि नेपाल आइन्।

गर्भवती भएकाले उनलाई छुट्टै होल्डिङ सेन्टरमा राखियो। त्यहाँ रहँदा उनले सबै कुराको जानकारी दिइन्। घरमा श्रीमान, छोराछोरी रहेको र यसरी बच्चा लिएर घर जाँदा परिवारले नस्वीकार्ने भनेर बताइन्।

त्यसपछि उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रसूति गराइयो। बच्चा जन्मिएपछि महिलाको इज्जत जोगाउनका लागि बच्चालाई कसरी बेवारिसे बनाउने भनेर सोच्न थाले। कपनमा अलपत्र परेका बालबालिकाको संरक्षण गर्दै आएकी पुष्पा उनीहरूको सम्पर्कमा आइन्। त्यसपछि बालिकालाई बेवारिसे बनाएर बाल गृह नजिकै कार्टुनमा राख्ने र पुष्पाले उद्धार गर्ने सबै योजना बन्यो।

त्यही योजनाअनुसार साउन १२ गते साँझ ६ बजेतिर बालिकालाई राखियो। त्यसपछि पुष्पाले बेवारिसे शिशु फेला परेको भन्दै सञ्चारमाध्यमलाई जानकारी गराइन्। प्रहरीलाई पनि खबर गरिन्। प्रहरीले पनि अन्य बालबालिकाको संरक्षण गरिरहेको भन्दै उनकै जिम्मा लगाइयो।

उजुरी परेपछि कारबाही हुन्छः प्रहरी

महिलाको इज्जत बचाउन रचिएको नाटकपछि प्रहरी यतिबेला मौन छ। एसएसपी ज्ञवालीले कहीँ कतैबाट उजुरी परेको खण्डमा आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढ्ने बताए।

“बाल अधिकार परिषद्ले घटनाको अध्ययन गरिरहेको छ। परिषद् कसरी प्रस्तुत हुन्छ। कहीँ कतैबाट प्रहरीमा उजुरी आयो भने कानूनी कारबाही हुन्छ। नत्र प्रहरी आफैंले केही पनि एक्सन लिँदैन,” एसएसपी ज्ञवालीले भने।

जथाभाबी समाचार आउँदा ती महिला डिप्रेसनको शिकार हुन सक्ने खतरा रहेको एसएसपी ज्ञवाली बताउँछन्।
“जथाभाबी समाचार आइरहेका छन्। ती महिलाबारे सूचना अत्यन्तै गोप्य राख्नुपर्ने देखिन्छ। यसरी उनी डिप्रेशनमा जाने पनि खतरा छ”, उनले भने।

प्रतिकृया दिनुहोस्