News Portal

सहकारीको ५ करोड ६७ लाख हिनामिना गरेर फरार भएका व्यक्ति पक्राउ

रातोपोस्ट संवाददाता
४८९ पटक

काठमाडौं, भदौ २३ । सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२१ न्यूरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडको प्रबन्धक पदमा रहेका बेला ५ करोड ६७ लाख रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं–३१ का ४४ वर्षीय राजकाजी खड्गी पक्राउ परेका हुन्।

२०७० असारदेखि गएको जेठ मसान्तसम्म सहकारीको हिसाव तथा बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई उनले रकम ठगी गरेको आरोप लागेको छ । रकम ठगी फरार भएका उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।

पक्राउ परेका खड्गीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुको जिम्मा लगाइएको छ। मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसूरमा अनुसन्धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद पाएको छ।

प्रतिकृया दिनुहोस्