News Portal

गोदाममा प्याज लुकाएर कृत्रिम अभाव, तीन गुणा बढि मुल्यमा बेच्ने व्यापारी पक्राउ ।

रातोपोस्ट संवाददाता
१५६३ पटक

काठमाडौं । गोदाममा प्याज लुकाएर कृत्रिम अभाव सिर्जना गरी ३ सय प्रतिशतभन्दा बढी मूल्यमा बिक्री गर्ने काठमाडौं बल्खुका एक व्यापारी बुधबार पक्राउ परेका छन् । आफ्नै नाममा होलसेल र खुद्रा व्यापारिक फर्म दर्ता गरेर प्याजमा कालोबजारी गर्ने व्यापारी सुनील केसीलाई प्रहरीले हिरासतमा लिएको हो । प्याजको मूल्य अचानक वृद्धि भएपछि काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको एक टोली अनुगमनका लागि बिहान ६ बजे उपभोक्ता बनेर बल्खु पुगेका थिए । सो टोलीलाई व्यापारीले प्याज धेरै नभएको भन्दै प्रतिकेजी १ सय १० रुपैयाँ पर्ने बताएका थिए ।

‘हामीले एसके सप्लायर्समा पुगेर प्याजको भाउ सोध्दा भारतबाट आयात रोकिएकाले मूल्य बढेको र १ सय २० रुपैयाँमा थोरै मात्र पाइने बताए,’ महानगरका कृषि विभाग प्रमुख हरि भण्डारीले भने । टोलीले बजार अनुगमनका क्रममा व्यापारी केसीले होलसेल व्यापारका लागि एसके सप्लायर्स र खुद्रा व्यापारका लागि चुली सगरमाथा ट्रेडर्स सञ्चालनबाट कारोबार गरेको भेटियो ।

खुद्रा पसलमा प्याज अभाव देखाउने केसीले सञ्चालन गरेको ट्रेडर्समा करिब २ सय ५० बोरा प्याज गोदाममा लुकाएको अनुगमन टोलीले फेला पार्‍यो । १५ दिनअघि नै ४० रुपैयाँ प्रतिकेजीका दरले किनेको प्याज अहिले अभाव देखाएर ११०–१२० रुपैयाँसम्ममा बिक्री भइरहेको उपभोक्ता हित संरक्षण तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने । उनले आफ्नै होलसेलबाट खरिद गरेर आफ्नै खुद्रा पसलबाट दोब्बर मूल्यमा बिक्री गरेको पाइएको उपभोक्ता मञ्चका अध्यक्ष तिमल्सिनाले बताए । केसीले आफ्नै होलसेलबाट ६१ देखि ६८ रुपैयाँसम्मको बिल जारी गरी आफ्नै खुद्रा पसललाई बिक्री गरेका छन् । पक्राउ परेका केसीलाई कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने महानगरीय प्रहरी वृत्तका डिएसपी अपिलराज बोहराले जानकारी दिए ।

भारतले प्याज निकासी बन्द गरेको खबरपछि काठमाडौंमा मंगलबारदेखि एकाएक कृत्रिम अभाव चुलिएको छ । केही दिनअघिसम्म कालीमाटी र बल्खु बजारमा प्रशस्त प्याज देखिए पनि बुधबार प्याज अभाव देखिएको महानगरका कृषि विभाग प्रमुख भण्डारीले बताए । उनले भने, ‘आयात रोकिएपछि केही दिनपछि अभाव हुनु स्वाभाविक हो, तर आयात रोकियो भन्ने सुन्न नपाउँदै यहाँ कृत्रिम अभाव गरेर उपभोक्तालाई ठग्ने प्रवृत्ति कायम छ ।’

टोलीले बुधबारै कालीमाटी तरकारी बजारमा समेत अनुगमन गरेको थियो । बजार व्यवस्थापनले बुधबारका लागि प्याजको मूल्य १ सय १७ रुपैयाँदेखि १ सय २० रुपैयाँसम्म पर्ने सार्वजनिक गरेको थियो । ‘सरकारी व्यवस्थापनको तरकारी बजारको मूल्य नै १ सय २० छ, हामीले १ सय ५० रुपैयाँ लिनु कुन ठूलो भयो र ?’ एक व्यापारीले भने । समितिका निर्देशक विनोदकुमार भट्टराई भने समितिले मूल्य निर्धारण नभई बजारमा किनबेचको अवस्थाको मूल्य राख्ने गरेको बताए । अनुगमनपछि काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आयात कम भए पनि त्यसको बहानामा अस्वाभाविक मूल्य वृद्धि गर्नु गलत भएको बताइन् ।

काठमाडौं महानगरले बजार अनुगमन निर्देशिका जारी गरेको छैन । तर, केही सातायता निरन्तर बजार अनुगमन गरिरहेको छ । समितिकी संयोजक उपप्रमुख खड्गी भन्छिन्, ‘गुणस्तर, मूल्य र सहजताका दृष्टिले उपभोक्ता पाइलैपिच्छे ठगिएका छन्, यसलाई कम गर्न अब महानगरले निरन्तर अनुगमन र दोषीलाई कारबाही गर्छ ।’-नयाँ पत्रिका 

प्रतिकृया दिनुहोस्