News Portal

बालबालिकाहरुलाई ललाई फकाई कानका मुन्द्रा लुटपाटमा संलग्न दुई पक्राउ

प्रविण अधिकारी
७२९ पटक

काठमाडौं, असाेज ७ । उपत्यकाको विभिन्न स्थानहरुबाट स-साना बालबालिकाहरुलाई ललाई फकाई नाक, कान र घाँटिका गरगहना लुटपाट गर्ने र उक्त सुन खरिदगरि बिक्रीवितरण गर्ने कार्यमा संलग्न दुई जनालाई महानगरीय प्रहरी वृत्त बौद्धकाे टाेलिले पक्राउ गरेको छ।

म्याग्दी स्थायी घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने ३२ वर्षकी संगिता क्षेत्री र काभ्रे घर भई ललितपुर बस्ने ३० वर्षीय मुरली विक पक्राउ परेका हुन्।

चार वर्षदेखि १० वर्ष उमेर समुहका बालिबालिकाहरुलाई लक्षित गरी चोरी गर्ने उक्त महिलालाई प्रहरीले काठमाडौँको माकलबारीबाट गएराति पक्राउ गरी आजै म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेको छ।

काठमाण्डौंको बालाजु, मनमैजु, कपन, कपुरधारा,गल्कोपाखा, स्युचाटार, कोटेश्वर, बालकुमारी, गोठाटार, पानी ट्याङ्की, महांकाल, आरुबारी, नारायणटार लगायतका ठाउँहरूबाट बिभिन्न मितिमा २२ पटक भन्दा बढी साना बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला र सुन किन्ने पुरुषलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलिले पक्राउ गरेको हो ।

हालसम्म २० जना अभिभाबकहरू प्रहरी सम्पर्कमा आएको तथा केही प्रहरी सम्पर्कमा आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ। महिलाले बालबालिकाहरुलाई आमाकाे साथि भएको बताउँदै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्ने र नाक, कान, घाँटीको गरगहना लुट्ने गरेको पाइएको छ।

बिल बिनाका चोरीका गहना अभियुक्त क्षेत्रीले ललितपुर स्थित विकले सञ्चालन गरेको दर्ता बिनाको सुन पसलमा लगेर बेच्ने गरेको तथ्य प्रहरीले फेला परेको छ। विकले सुन पसलमा चोरीका गहना सस्तो मूल्यमा किनेर स्वरुप परिर्वतन गरी बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका निज विकको पसलबाट ३० हजारसहित चुडिएको सिक्रीलगायतका सामान समेत प्रहरीले बरामद गरेको छ।

साथै आफ्ना बालबालिकालाई अपरिचित व्यक्तिसँग कसरी सुरक्षित हुने भनेर सिकाएमा भविष्यमा पुनः यस प्रकृतिका घटनाहरू दोहोरिन नपाउने भन्दै अभिभावकहरुलाई सचेत रहन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्