News Portal

विद्युत् प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु, २ बेपत्ता

रातोपोस्ट संवाददाता
५८८ पटक

कपिलवस्तु, असोज ७ । कपिलवस्तुको वाणगंगा नगरपालिकावडा- ७ मोतीपुर भलवाड सडकखण्डमा रहेको कजवेमा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको गाडी र गाडीमा सवार ६ जनालाई बगाएको छ।

प्राधिकरणको जितपुरस्थित स्वीच सेवाको बा १ ञ १०८९ नम्बरको गाडीलाई बाढीले बगाउँदा गाडीमा सवार ६ जनामध्ये १ जनाको ज्यान गएको छ । गाडीमा सवार २ जना बेपत्ता छन् । ३ जनाले गाडीबाट हाम फाल्दै पौडिएर ज्यान जोगएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिए।

गाडी चालक गुल्मी तम्घास घर भएर नेपाल विद्युत प्राधिकरणमा सवारी चालकको रुपमा काम गर्दै आएका ३५ वर्षीय माधवप्रसाद पाण्डेको शव फेला परेको प्रहरीले जनाएको छ।

नेपाल विद्युत प्राधिकरण जितपुर फ्युज सेवाका इन्चार्ज कृष्णप्रसाद पौडेल र गाडीमा लिफ्ट लिएर चढ्ने अर्घाखाँची शितगंगा नगरपालिकावडा- १३ का केशवप्रसाद भाट बेपत्ता छन्।

वाणगंगा नगरपालिकावडा ९ की शिक्षिका ३२ वर्षीय कोपिला अधिकारी, विद्युत कर्मचारी २७ वर्षीय विजय पोख्रेल र ५९ वर्षीय परशुराम थारु गाडीबाट हामफालेर ज्यान जोगाउन सफल भएका हुन्। बेपत्ता अन्य २ जना र गाडीको खोजी भइरहेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहे पनि बाढीका कारण खोजीकार्यमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्