News Portal

इरानी वैज्ञानिकको हत्यामा ‘आर्टिफिसियल इन्टेलिजेन्स सहितको मेसिनगनको प्रयोग’

बीबीसी
१४९७ पटक

इरानको रेभुलस्नरी गार्ड्सका एकजना कमाण्डरले गत महिनाको अन्त्यतिर वरिष्ठ आणविक वैज्ञानिक मारिँदा ‘आर्टिफिसियल इन्टेलिजेन्स सहितको’ स्याटलाइट नियन्त्रित मेसिनगन प्रयोग भएको बताएका छन्। नोभेम्बर २७ मा तेहरान शहरभन्दा बाहिर मोहसेन फक्रिजादे सवार गाडीमा गोली प्रहार गरेर उनलाई मारिएको थियो।

गार्ड्सका सहायक रथी अलि फदवीले स्थानीय सञ्चारमाध्यमहरूलाई फक्रिजादेलाई मारिएको हतियार एउटा पीकअप गाडीमा राखिएको बताए। उनले एउटा विशिष्ठ प्रणालीले छेवैमा रहेकी वैज्ञानिककी श्रीमतीलाई कुनै असर नगरीकन ती वैज्ञानिकको अनुहार पहिचान गर्न सकेको र उनलाई तेह्रवटा गोली हानिएको बताए।

फरक-फरक विवरण
अब्सर्ड शहरमा कारबाट यात्रा गरिरहेका बेला ती वैज्ञानिकलाई कसरी गोली हानेर मारियो भन्ने विषयमा इरानी अधिकारीहरूले फरक-फरक विवरण सार्वजनिक गरिरहेका छन्।

रक्षा मन्त्रालयका अनुसार हमलाको दिन फक्रिजादेका सुरक्षाकर्मी र केही हमलाकारीबीच गोली हानाहान भएको थियो।
एउटा इरानी समाचारमा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बताइएअनुसार ‘आतङ्ककारी भनिएका तीनदेखि चारजनालाई मारिएको थियो।’ एउटा निशान कम्पनीको पीकअप गाडी समेत घटनास्थलमै ध्वस्त भएको बताइएको छ।

अपुष्ट
उनको त्यो दाबीको पुष्टि हुन सकेको छैन। तेहरानले उक्त हमलाका लागि इजरेल र निर्वासनमा रहेको इरानको एउटा विपक्षी समूहलाई आरोप लगाएको छ। ती वैज्ञानिकलाई अन्तिम श्रद्धाञ्जली दिने क्रममा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुखले त्यो ‘विशेष तरिका’ र ‘विद्युतीय उपकरण’ प्रयोग गरेर टाढाबाट गरिएको हमला भएको बताएका थिए। तर उनले थप विवरण खुलाएका थिएनन्। मोहसेन फक्रिजादे इरानको अर्गनाइजेसन अफ डिफेन्सिफ इनोभेसन एण्ड रिसर्चका प्रमुख थिए।

गार्ड्सका सहायक कमाण्डर जनरल फदवीले तेहरानमा मङ्गलवार आयोजित एक कार्यक्रममा एउटा मेसिनगन रहेको निशानको पीकअपमा ‘फक्रिजादेलाई ताकिएको जासुसी भूउपग्रह प्रणाली’ रहेको र ‘त्यसले आर्टिफिसियल इन्टेलिजेन्स’ प्रयोग गरेको जनाएका थिए।

‘बदला लिइने’
उक्त मेसिनगनले ‘फक्रिजादेको अनुहार मात्र ताकिरहेको जबकि १० इन्चजति मात्र पर रहेकी उनकी श्रीमतीलाई गोली नलागेको’ जनरल फदवीले बताएका थिए। ती सैनिकले उक्त घटनास्थलमा कुनै मानव हमलाकारी उपस्थित नरहेको बताए।

इरानका सर्वोच्च नेता अयातोल्हा अली खामेनेईले उक्त हत्याको बदला लिइने र त्यसमा जिम्मेवारलाई ‘पूर्ण रूपमा सजाय दिइने’ बताएका छन्। शुक्रवार इजरेली पब्लिक रेडियोले जनाएअनुसार इजरेलका सुरक्षा अधिकारीले केही आणविक वैज्ञानिकहरूलाई सजग रहन सचेत गराएको छ।

प्रतिकृया दिनुहोस्