News Portal

श्रीराम सुगर मिल्सका ३ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

रातोपोस्ट संवाददाता
१७६० पटक

रौतहट, २ पुष । रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका छन् ।

बुधबार ४६ जना उखु किसानहरुले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराएपछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका व्यक्तिहरुको खोजतलाशका लागि सम्बन्धित ठाउहरुमा पत्रचार भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

मिलले आर्थिक वर्ष ०७१/ ७२ को १२ करोड, ०७५/ ७६ को २८ करोड ५० लाख र ०७६/७७ को ५० लाख रुपैयाँ गरी ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवले जानकारी दिएका छन् । यादवले मिलले आफूहरुको रकम मास्ने उदेश्यका साथ बिना कुनै पूर्व जानकरी साउन ११ गते उद्योग सदाका लागि बन्द भएको सूचना टाँस गरेर मिल सञ्चालकहरु सम्पर्क विहीन भएको आरोप लगाएका छन् ।

पक्राउ पुर्जी जारी भएका तीनै जनाले किसानको बाँकी बक्यौता फर्छौैट नगरी मिल बन्द गरेर किसानलाई ठगेको आरोप किसान संघले लागाएको छ ।

प्रतिकृया दिनुहोस्