News Portal

नेपाल–बंगलादेशबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता

रातोपोस्ट संवाददाता
१४१३ पटक

काठमाडौं, ३ पुस । नेपालले बंगलादेश सरकारसँग जीटुजी प्रक्रिया मार्फत ल्याउन लागेको ५० हजार मेट्रिकटन युरिया मल खरीदका लागि दुई देशबीच सम्झौता भएको छ । बिहीवार नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशको बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशनबीच सम्झौता भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादर भण्डारी र बंगलादेशका तर्फबाट बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशनका अध्यक्ष मोहमद अमिउल अहसनले हस्ताक्षर गरेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार मेट्रिकटन दाना युरिया मल बल्क र कार्गो गरी दुई तरीकाले चार लटमा आयात गर्ने सम्झौतापत्रमा उल्लेख छ । बंगलादेशकै कर्नाफुली फर्टिलाइजर कम्पनी लिमिटेडले उत्पादन गरेको मल ल्याउने बताइएको छ । सम्झौता भएको तीन महिनाभित्र बंगलादेशले नेपालमा मल निर्यात गर्ने सहमति भएको छ ।

उक्त सम्झौताको कार्यान्वयनले नेपालमा रासायनिक मल अभावको समस्या समाधान हुने विश्वास लिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ । यस सिजनमा खेती गरिने बालीलाई आवश्यक पर्ने युरिया, डीएपी र पोटास मल पर्याप्त रहेकाले आगामी दिनमा समेत मलको अभाव हुन नदिन मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिहरू तयार गरिरहेको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्