News Portal

बालुवाटारमा बादलले भने, ‘क्रान्तिको नेतृत्व हामी गर्छौं’

रातोपोस्ट संवाददाता
६५७ पटक

काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले अबको क्रान्तिको नेतृत्व आफूहरुले गर्ने बताएका छन्। ओली समूहको बैठक बालुवाटारमा सम्बोधन गर्दै बादलले पार्टीबाट प्रतिगामि शक्ति छुटेकोले अबको क्रान्ति आफूले गर्ने बताएका हुन्।

बुधबारसम्म नेकपाका दुवै समूहमा आफ्नो उपस्थिति नदेखाएका बादलले बिहीबार प्रधानमन्त्री समेत रहेका ओली समूहमा गई सम्बोधन समेत गरेका थिए। उनले सम्बोधनका क्रममा प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै भने, ‘हामीले अन्तिमसम्म पार्टी एकताको प्रयास गर्‍यौं । नेतृत्वलाई अपदस्थ गर्ने र परिवर्तन गर्न खोजियो। तर, नेतृत्व परिवर्तन गर्न अन्य तरिकाहरु अपनाइएन।

वैज्ञानिक तरिका पनि छन्, उहाँहरूले पार्टी फुटाउने कसम खानुभएको थियो। सरकार अपदस्थ गर्ने सपथ खानुभएको रहेछ। पार्टी प्यालेसमा गएर त्यो आकांक्षा पूरा गर्नुभएको छ।’ बादलले आक्रोशित हुँदै भने, ‘विदेशी प्रतिक्रियावादी शक्तिहरुको खेल प्रचण्ड–माधव समूहका कारण सफल भएको छ। एउटा गुट पार्टीबाट बाहिरिएको छ। तर, क्रान्तिको नेतृत्व हामी गर्छौं । त्यसैले हामी मूल नेतृत्वलाई साथ दिन सपथ खाँदैछौं।’

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री थापाबीच बिहीबार करिव डेढ घण्टा बालुवाटारमा छलफल भएको थियो। उक्त छलफल पनि बादलले ओली समूहलाई साथ दिने निर्णय गरेका थिए। यसअघि उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री थापा कुनै पनि पक्षमा खुलेका थिएनन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा दुई समूहका विभाजित बनेको छ। पूर्व एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुले प्रचण्डलाई साथ दिएका छन् भने प्रचण्ड पक्षधरका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायतले ओली समूहलाई साथ दिएका छन्।

प्रतिकृया दिनुहोस्