News Portal

जुर्मुराउँदै रंगमञ्च

रातोपोस्ट संवाददाता
१३२१ पटक

झापा । कोरोना महामारीले नेपाली रंगमञ्चलाई नराम्रोसँग थला पार्यो । सबैभन्दा धेरै मारमा परे मोफसलका रंगमञ्च । भर्खर जग बसाउँदै गरेका रंगमञ्चहरु धमाधम भत्किए कोरोना कहरले । नाटक हेर्ने दर्शक क्रमशः वढ्दै थिए । कलाकारले पनि आफ्नै ठाउँका दर्शकलाई कला देखाउन पाएका थिए । नाटकमा अभिनय गरेर सामान्य जीवन निर्वाह गरिरहेकै थिए । सामान्य जीवन चलिरहेकै वेला आनक कोरोना महामारी शुरु भयो । मोफसलका रंगमञ्चलाई नराम्रो झड्का लाग्यो ।

अघिल्लो वर्ष फागुनमा झापा दमकको कदम थिएटरले ‘बाछिटा’ नाटक प्रदर्शनको तयारी गर्दै थियो । प्र्रदर्शनको मिति तय भइओरी अन्तिम तयारीमा कलाकार जुट्दै थिए । प्रदर्शनको दुई दिनअघि नाटक नै रोक्नु पर्ने बाध्यता आइलाग्यो कोरोना महामारीका कारण ।
कदमले नाटकका लागि तीन लाखभन्दा धेरै खर्च गरिसकेको थियो । दमक क्षेत्रमा भर्खर बामे सर्दै गरेको थिएटर नराम्ररी पछारियो । ‘नाटक प्रदर्शनको अन्तिम तयारीमा थियो । प्रचारप्रसारदेखि आवश्यक सबै काम सकिएको थियो,’ थिएटरका निर्देशक सिजन दाहाल भन्छन्, ‘प्रदर्शनको दूई दिनअघि रोक्नुप¥यो । त्योवेला नाटक गर्दाको तीन लाख ऋण अझै तिर्न सकेको छैन । महामारीले चुर्लुम्म डुबायो ।’
महामारीले थलिएको कदम थिएटर विस्तारै उठ्दैछ । थिएटरले आफ्ना गतिविधि गर्न सुरु गरिसकेको छ । ‘हामीले केही हप्ताअघि कार्यशाल ग¥यौं । फागुन पहिलो साताबाट झापाका सातवटा स्थानीय तहमा प्लेब्याक नाटक प्रदर्शनको तयारी गरिरहेका छौँ,’ दाहाल भन्छन्, ‘महामारीले प्रदर्शन रोकिएको बाछिट्टा नाटक पनि प्रदर्शन गर्ने छलफलमा छौँ ।’

मोफसलका रंगमञ्चले नाटक प्रदर्शनका लागि भर्खर आधार तयार गर्दै थिए । काठमाडौंका नाटकघरमा जस्तो नियमित दर्शक मोफसलमा छैनन् । तर, दर्शक नाटक घरसम्म आउने वातावरण तयार हुँदै गर्दा कोरोनाले नाटक घर नै ठप्प पा¥यो । त्यही कारण अब दर्शकलाई नाटक घरसम्म ल्याउन नसकिने हो कि भन्ने चिन्ता छ, रंगकर्मीलाई । ‘काठमाडौंभन्दा हाम्रा समस्या अलिक फरक छन् । काठमाडौंले दर्शक पाएको छ । हामीले भर्खर तयार गर्दै थियौँ । अब दशर्कलाई हलसम्म ल्याउन समस्या होला कि ! तर, हामी आफ्नो ठाउँबाट लाग्नेछौँ,’ कला निर्देशक दाहाल भन्छन्, ‘काठमाडौंमा तयारीका हल छन् । सबै सामान आफ्नै छन् । हामीले शून्यबाट काम थाल्नुपर्छ ।’

महामारीको समयमा रंगकर्मीलाई धेरै मुस्किल भयो । नाटक गरेरै जीवन निर्वाह गरिरहेका कलाकार पलायन हुने अवस्था सृजना भएको मोरङको झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाइँले बताए । ‘महामारीले त थला बसायो । नाटक गर्न पाइएन । नाटकको माहोल राम्रो भइसकेको थियो । महामारीले सबै ठप्प भयो,’ उनी भन्छन्, ‘मेरो अनुभवमा नाटक खेल्न धनी परिवारका आउँदैनन् । भूँइ मान्छे नै कलाकार बन्न आउने देखियो । महामारीले आर्थिक हिसाबमा झन् कमजोर बनायो । कलाकार विकल्प खोज्न बाध्य भए । विकल्प पनि पाउने अवस्था रहेन ।’ यो रंगमञ्चले मोफसलमा निरन्तर नाटक प्रदर्शन गर्दै आएको थियो । तर, अहिले नाटक प्रदर्शन गर्न सकेको छैन ।
महामारीले थलिएका रंगमञ्च विस्तारै जुर्मुराउन थालेका छन् । मोफसलका रंगमञ्चले कतै नाटक प्रदर्शन सुरु गरेका छन् भने कतै कार्यशाला सुरु गरिसकेका छन् । केही नाटकघरहरू अब तत्काल नाटक प्रदर्शन गर्ने तयारी गर्दै छन् । ‘अहिले हामी कार्यशाला गरिरहेका छौँ । अब विस्तारै मोफसलका रंगकर्मी जुर्मुराउँदै छन्,’ गुरागाइँ भन्छन्, ‘महामारी सकिएको छैन । तर, सबै क्षेत्रमा चहलपहल बढ्यो । हामी पनि चाँडै नाटक पनि प्रदर्शन गर्न सकिन्छ कि भन्ने छ ।’

सुनसरीको इटहरीमा रहेको कलालय पनि विस्तारै रंगमञ्चमा फर्कने तयारी गर्दैछ । केही समयअघि इलामको सूर्योदय नगरपालिकाको सहकार्यमा त्यहाँ ११ दिन कार्यशाला गरेको कलालया अध्यक्ष सोनु जयन्ती बताउँछन् । गत वर्षदेखि गर्दै आएको अन्तरदेशीय साझा रंगमञ्च कार्यक्रम र स्कुल थिएटर कार्यक्रमलाई पनि निरन्तरता दिने तयारी भइरहेको उनले बताए । ‘हामी समूहमा बसेर काम गरौँ भन्छौँ । कोरोनाले समूहमा नबस्नु भन्छ । हामी सामाजिक दूरी भत्काउँछौँ । कोरोनाले कायम गर्नुपर्छ भन्छ । यसले त हामीलाई ठूलो हसर पा¥यो । बल्ल दर्शक बढ्दै थिए,’ उनी भन्छन्, ‘फागुन पहिलो साताबाट रोकिएको काम गर्ने कि भन्ने छलफलमा छौँ ।’

इलाममा क्रियाशील चेतना नाट्य समूहले पनि कोरोना महामारीपछि गतिविधि सुरु गरेको छ । यो समूहले केही दिनअघि इलामको माई नगरपालिकाका विभिन्न क्षेत्रमा चेतनामूलक सडक नाटक प्रदर्शन गरेको समूहका अध्यक्ष सुरेश पोर्तेलले बताए । ‘अब विस्तारै पुरानै अवस्थामा फर्कनुपर्छ । हामीले वैदेशकि रोजगारी सम्बन्धि चेतनामूलक सडक नाटक ग¥यौँ । केही दिनम केही ठाउँमा अझै गर्नुपर्ने छ,’ उनी भन्छन्, ‘एक वर्षसम्म त्यसै बस्दा कलाकारलाई फममा आउन पनि गाह्रो भएको छ । शरीरलाई चलायमान नबनाउँदा पुरानो अवस्थामा आउन केही समय लाग्ने रहेछ ।’ चेतना नाट्य समूहले फागुन अन्तिममा कार्यशाला गरेर नाटक प्रदर्शनको तयारी गरिरहेको उनले बताए ।
झापाको काँकडभिट्टामा रहेको परिवर्तन थिएटरले पनि थिएटरमा गतिविधि सुरु गरेको छ । थिएटरले केही समयअघि कार्यशाला गरेको अध्यक्ष लीला विष्टले बताइन् । क्रमशः अब नाटक प्रदर्शन गर्ने उनको भनाइ छ ।

महामारीले विदेशिनु प¥यो : ज्ञानेन्द्रकुमार मगर, रंगकर्मी, कदम थिएट
म विगत तीन वर्षदेखि कदम थिएटरमा आवद्ध छु । थिएटरले मोफसलमै बसेर पनि कलाकारिताको भोक मेट्न सहयोग गरेको थियो । महामारीअघिसम्म थिएटरबाटै सामान्य जीवन निर्वाह गरिरहेको थिएँ । कोरोना महामारीपछि भएको लकडाउनले आर्थिक अवस्था झन् कस्कँदै गयो । घरको आर्थिक अवस्था पनि कमजोर । घरको प्रेसरले मैले विदेशिने निर्णय गर्नुप¥यो । म कलाकारिताबाटै देशै केही गरूँ भन्ने मान्छे । तर, नशा–नशामा कलाकारिता हुँदा हुँदै विदेशिनु प¥यो । कोरोना महामारी नआएको भए म कलाकारितामै रमाउने थिएँ । मेरो युएईको भिसा लागेको छ । सोमाबार (आज) रातिको फ्लाइट छ, मेरो । तर, विदेशबाट फर्किएपछि पुनः कलाकारिता मै फर्कनेछु ।

स्थानीय तहको सहयोग आवश्यक: कविता नेपाल, नाट्य निर्देशक
परिवर्तन थिएटरमार्फत पूर्वी नेपालको सीमान्त सहर काँकडभिट्टामा रहेर नाटकमार्फत समाज रूपान्तरणको काम गर्दै आएका छौँ । महामारीअघि हामीले राम्रो दर्शक पाएका थियौँ । भारतको दार्जिलिङ, सिलिगुडी, कालिम्पोङ आदि सहरबाट पनि नाटक हेर्न दर्शक आउन थालेका थिए । तर, कोरोना महामारीले डामाडोल बनायो । उत्साहका साथ रंगमञ्चमा आएका कलाकारहरू मानसिक रूपमा विछिप्त भए । महामारीपछि हामीले स्तरीय नाटकका लागि एकदम मिहिनेत गर्नुपर्ने हुन्छ । पहिलाको जस्तो मात्र मिहिनेतले पुग्दैन । अब सीमाना पारि (पश्चिम वंगाल)का दर्शक हामीले पाउँछौँ कि पाउँदैनौँ चिन्ता छ । मोफसलका रंगमञ्चको अवस्था एकदम नाजुक छ । नाटकमार्फत समाजमा चेतना फैलाउने काम रंगमञ्चले गर्छ । तर, स्थानीय सरकारले रंगमञ्चलाई सधैँ बेवास्ता गर्दै आएको छ । अब रंगमञ्चलाई पुरानै अवस्थामा फर्काउन स्थानीय सरकारले सहयोग गर्न आवश्यक छ ।

प्रतिकृया दिनुहोस्