News Portal

सम्पादकीय : किन रोकिँदैनन् बलात्कार तथा हत्याका घटना ?

प्रवीण अधिकारी
१२४० पटक

जुन देशमा राजनीतिक अस्थिरता छ, समाजलाई गरिबी र पछोटेपनले गाँजेको छ र अत्याधिक मात्रामा बेरोजगार रहन्छन् , त्यस्तो ठाउँमा बलात्कारका घटनाहरू बढी मात्रामा हुन्छन्।’ नेपालमा साक्षरता दर कम हुनु, बलात्कारसम्बन्धी कानुन फितलो हुनु र बनेका कानुन पनि लागू नहुनुले शक्तिको दुरुपयोग गर्नेका लागि उपयुक्त समय मिलेकै कारण बलात्कार तथा हत्याका घटनाहरू बढेकाे कुरामा दुईमत छैन। पछिल्लो समय समाजशास्त्रीहरूकाे भनाइलाई आधार मान्ने हो भने बलात्कारका घटनालाई पुँजीवादी समाज व्यवस्थासँग जोड्न आवश्यक देखिन्छ । ‘नेपाली समाज सामन्तवादी स्वरूपबाट पुँजीवादमा गएको कुरामा कुनै दुईमत छैन।

हिजो गाउँमा डिट्ठा, मुखिया ,काजि तथा प्रधानहरूले कमजोर वर्गका छोरीचेलीमाथि हातपात गर्थे। अहिले धनको आडमा,पावर र पहुँचका आधारमा धनाढ्य तथा ठुलाबढाहरूले गरिरहेका छन्। धनको उन्माद र राजनीतिक संरक्षणमा बलात्कारका घटनाहरू बढिरहेका छन्।’ पछिल्लो समय देशमा हत्या ,हिंसा ,बलात्कार जस्ता अपराधिक घटनाहरू दिन दुई गुणा र रात चाैगुणा भनेझैं दिनानुदिन बढ्दो छ। यसलाई न्युनिकरण गर्नका लागि भनेर सरकारले नयाँ अध्यादेश समेत जारी गर्याे तर कानुनलाई नै चुनौती दिने खालका जघन्य अपराधका घटनाहरू भने बढ्दै गएका छन् । २०७५ साउन १० मा बलात्कार पछि हत्या गरिएकि १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको प्रशासनलाई पुन बैतडीको भागरथि हत्या प्रकरणले चुनौती थपेको छ भने देशभरका चेलीबेटी तथा अभिभावकहरू त्रसित बनेका छन्। निर्मला पन्त प्रकरणमा घटना ढाकछोपका लागि ठुलै गिराेह सक्रिय रहेको ,अनुसन्धानलाई फितलो पारिएको सम्मका टिप्पणीहरू सार्वजनिक भए तर हत्यारा भने अझै सार्वजनिक हुन सकेन ।

भागरथी भट्ट र यिनका परिवारले न्याय पाउलान् भन्ने कुरामा शंका पैदा हुन थालेकाे छ।देशमा जतिबेला कसैको बर्बरता पुर्ण बलात्कार र हत्या हुन्छ तब सडकमा रहेका राजनितीक दलहरूलाई आन्दोलनको मसला हुने गरेको छ । जब त्यहि राजनीतिक दल सत्तामा पुग्छ फेरि त्यहि प्रकृतिका घटना दाेहाेरिँदा किन चुपचाप रहन्छ सत्ता ? यो कुरालाई आम जनताले बुझ्न जरुरत देखिन्छ । बलात्कार तथा हत्या हिंसा रहित राष्ट्र निर्माण चुनावी घाेषणा पत्रमा उल्लेख गरेका राजनीतिक दल र नेताहरू सत्तामा पुगेपछि किन बिर्सिन्छन्, आफ्ना चुनावी एजेन्डा र जनतासँग गरेका बाचाहरू ? किन बढिरहेको छ बलात्कार हत्या र हिंसा ? समाजमा घटेका कुनै पनि अपराधीक घटनालाई राजनीतिक संरक्षण ,पावर र पहुँचका आधारमा गरिबहरू माथि बढ्दो शोषण , अपराधीक घटनाहरूमा पैसाको चलखेल लगायतका कारण पनि देशमा अपराधीक गतिविधि बढ्दै गएको कुरामा दुईमत छैन । एकतिर काेराेना महामारीको कारण थप बेरोजगारीहरू बढ्नु, र समय व्यतीत गर्ने माध्यम सामाजिक सञ्जाल बनेको छ । जसका कारण अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा छ । सामाजिक सञ्जालबाटै माया प्रेमकाे नाटक रचेर अपराधिक गिराेह पछिल्लो समय सक्रिय रहेको कुरालाई प्रशासनले खासै ध्यान दिएको देखिँदैन भने अर्कोतर्फ अभिभावकहरू पनि आफ्ना छाेराछाेरीले सामाजिक सञ्जाल कुन ढंगले प्रयोग गरिरहेका छन्, भन्ने विषयमा बेखबर छन्। यसले पनि अपराधिक घटनाहरूलाई टेवा पुर्‍याइरहेकाे छ । त्यसैले यी अपराधीक गतिविधिहरूकाे अन्त्य गर्न, पीडितलाई न्याय दिलाउन र अपराधीक गतिविधिकाे अन्त्यकाे लागि यो विषयलाई बहसमा ल्याउन जरुरत छ। सम्बन्धित निकाय,सरोकारवाला, विभिन्न संघसंस्था ,राजनीतिक दल ,आम जनता लगायत सबै निकायहरूले यो विषयमा गम्भीरतापूर्वक छलफल गर्न जरुरी छ।

प्रतिकृया दिनुहोस्