News Portal

‘नफक्रिँदै झरेको एउटा फूल’

रबिन्द्र बुढाथाेकी
१४८० पटक

जेठ महिनाको बिहानको त्यस्तै एघार बजेको समय छ । जेठ महिना लागिसकेको र पानी नपरेको पनि लामो समय भएकाले गर्मी अलि बढी नै भएको महशुस हुन्छ ।

बिहानको समय भए पनि घाम चर्किसकेका छन् । म घरमै बसेको हुन्छु । त्यसैबीच पर कतैबाट नारी चित्कार सुनिन्छ ।

सास समेत रोकेर कान ठाडा पार्दै, ध्यान त्यतै केन्द्रित गर्छु । चित्कार झन्–झन् बढ्दै गएझैँ लाग्छ । म र चित्कार आएको ठाउँबीचको दुरी दश मिनेट जतिको मात्रै भए पनि कोल्टे ठाउँमा पर्ने भएकाले दृश्य देखिँदैन । बिहानसम्म केही नभएको, हाँसिरहेको, खेलिरहेको मेरो पात्ले गाउँलाई एक्कासि आँशुको, दुः खको पोेखरीमा पौडिरहेको, पीडामा छट्पटाईरहेको सहजै अनुमान गर्न सक्थेँ म । दौडिँए आवाज आएतिर ।

आवाज झन् बढ्दै थियो । आवाज पनि चिनेचिने जस्तो लाग्यो । झन् नजिक हुँदै जाँदा प्रष्ट भएँ, रुने त साइँली काकी रछिन् । पन्ध्र मिटर जतिको दुरी थियो होला, म र साइँली काकीको घर बीच । यसो हेरेँ, आँगनमा मान्छेको भीड छ । त्यही भीडको बीचबाट हृदय नै छिया–छिया पार्ने साइँली काकीको क्रन्दन सुनिन्छ । के भएछ ? किन यसरी रुनु’भा साइँली काकी ? के आइलाग्यो यो सानो परिवारमा ? यो सुखी परिवारमा ? यस्तै यवात् प्रश्नहरु मनमा खेलाउँदै म पनि त्यही भीडमा गएर मिसिन्छु ।

जेठ महिनाको टन्टलापुर घामको कुनै पर्वाह छैन । आँगनमा खड्का कान्छो, खबतरी जेठो, सालबोटे माइली, आलेको प्रिमे, दर्बे कान्छी, कमेरे गीते, माख्लो घरे दाई, तल्लो घरे भाई, हरी, बले, सीते, अम्बिके, गोमे, कान्छो, काइँलो, रीते लगायत तीस–पैँतीस जनाको भीड छ । तीस–पैँतीस जनाको भीड बीचमा दर्बे कान्छी भाउजूको काखमा– काकी टाउको राखेर रोइर’नु भा’छ । त्यहाँ जम्मा भा’का सबैको हृदय छिया–छिया पारेर ।

मान्छे स्वभावैले स्ुख र खुशीमा हाँस्ने र दुः ख र पीडामा रुने प्राणी । ढुङ्गामा पनि जीवन हुँदो त सायद पग्लन्थ्यो । त्यहाँको दृश्यले, त्यहाँको परिवेशले । मान्छे नपग्लने कुरै भएन । पग्लिए सबै आगोको तापमा नौँनी पग्लिए जसरी । विशेष गरी महिला । उफ् ! म अन्योलमा थिएँ । त्यहीँ थिएँ र पनि म बेखबर थिएँ, यथार्थ जान्नबाट । सबै रानो हराएको मौरीजस्तै थिए । बादलले ढाकेको आकाशजस्तै, कालो र न्याउरो मुख ।

मनमा अत्यास लाग्दो बेचैनी र छट्पटी । तत्काल कसैलाई केही सोधि हाल्ने हिम्मत पनि आएन । दर्बे कान्छी भाउजू साइँली काकीको शिरमा हातले थुम्थुम्याउँदै, आँशु पुछिदिँदै नरुन आग्रह गर्दै छिन् । माख्ला घरे हजुबा भन्दै थे– “नरो साइँली नरो दैवको लीला के गर्छेस्, तेरो भागा यस्तै लेख्या रच ।” अरु पनि यस्तै के–के भनेर सान्त्वना र ढाडस दिँदै थिए । सोचेँ– संसारको सबैभन्दा सजिलो काम सम्झाउँनु पनि हो कि ? जस्तो लाग्यो । जति सम्झाए नि सम्झिनेले सम्झ्या हैन ।

बुझ्या हैन । सम्झिनु पनि कसरी ? बुझ्नु पनि कसरी ? जब हृदय नै भक्कानो फुटेर आए’सि । धेरै रो’काले होला, साइँली काकीको आवाज निस्कन छोेडिसकेको थ्यो । हिक्क–हिक्क गरेको मात्र सुनिन्थ्यो । यथार्थता मेरै सामु लम्पासार परेको थियो र पनि म अझै अन्योलमै थिएँ, कुहिरोको कागजस्तै । ममा धैर्यताको बाँध टुटिसकेको थियो ।

मन बेचैनी र छट्पटीले ज्वालामुखी उठ्न मात्र बाँकी थियो । अझै केही छिन रोक्केँ भने म खरानीमा परिणत हुन्छु भन्ने लागे’सि, हिम्मत गरेर छेउमै उभिएकी पल्लाघरे कान्छा बा कि छोरी सीतेलाई कोट्याएर सासैले सोधेँ– “ओई ! के भा याँ ? काकी किन ¥वा ?” उसले पनि मैलेजस्तै सासैले भनी– “शहराँ निशे मरी रे ।” हाय ! यो के सुन्नु प¥यो यी कानले ? यो के देख्नु प¥यो यी आँखाले ? यो सुन्नुभन्दा पहिले किन बन्द भएनन् मेरा कानहरु । किन फेटेनन् मेरा आँखाहरु । भाउन्न छुट्ला छुट्लाजस्तो भो । त्यहीँ चप्पलको डिलमा थुचुक्क बसेँ ।

निशे मेरो आँखै अघि नाच्न थालि । अस्ति भर्खरै हो त उसले फोनमा भनेकी– ‘जेठको अन्तिमतिर परीक्षा सकेर आउँछु भनेकी, बाआमाको हालखबर सोधेकी, आँप कतिको फलेका छन् भनेर सोधेकी, आरु आल्चा फूले नफूलेको सोधेकी, ऐँसेलसु पाके नपाकेको सोधेकी, सीते, बले, रीते, कान्छो र अम्बिकेको हालखबर सोधेकी ।’ चैते दशैँमा आएर फर्किदा पनि भन्थि– “मिल्यो भने वैशाखे औँशीमा आउँछु, आमाको मुख हेर्न, नमिले परीक्षा दे’र आउँछु ।” भन्थि ।

जेठको अन्तिममा बाह्र कक्षाको परीक्षा दिनेवाला थिई ऊ । वैशाखे औँशीमा आईन । सायद परीक्षाको तयारीमा लागेर । गाउँ काठमाण्डौँबाट छ–सात घण्टाको दुरीमा मात्रै भए पनि आउँदा–जाँदा, दुई दिन त त्यसै बित्ने नै थ्यो । त्यो दुई दिन जाँचका लागि केही तयारी गर्छु भनेर पो आइन कि ? जे होस्, ऊ वैशाखे औँशीमा आईन । कुरा हँदा मैले पनि किन आईनस् भनेर सोधिन । उसले पनि बताईन । जेठको अन्तिममा ऊ आउँछे भन्नेमा म ढुक्क थिएँ ।

तर जेठको सुरुवातमै उसले इहलीला त्यागी भन्ने सुन्दा भाउन्न छुट्लाजस्तो भो, मुटु फुट्लाजस्तो भो । किन मरी ? किन त्यस्तो कदम उठाई ? के पु¥याएका थिएनन् र साइँला काका र काकीले ? हाम्रो अलिकति पनि माया लागेन है ? यी र यस्तै यवात् प्रश्नहरुले मलाई चिमोटिरहे, थिचिरहे । प्रश्नवाचक चिन्हमुनीको थोप्लोजस्तै म अड्किएँ, प्रश्नै प्रश्नहरुमुनि ।

पात्ले गाउँको एउटा उदाहरणीय परिवार थियो, साइँला काकाको । छोरी निशा, छोरो निशान, साइँलो काका र साइँली काकी । सानो परिवार, सुखी परिवार । छोराछोरीमा कुनै भेदभाव थिएन । पढ्न, लेख्न र खानमा । छोरा र छोरी दुई आँखाका नानी थिए । मुटुको धड्कन थिए । वर्तमानका आशा थिए र भविष्यका सहारा । नानीबिना आँखाको अस्तित्व नभएझैँ, धड्कनबिना मुटुको अस्तित्व नभएझैँ । निशा र निशान नभए, साइँला काका र साइँली काकीको अस्तित्व पनि थिएन सायद ।

गाउँलेहरुलाई यस्तै लाग्थ्यो । यदाकदा भन्ने गरेको पनि सुनिन्थ्यो– ‘परिवार होस् त गहिरा घरे साइँलाजस्तो होस् ।’ वल्लो घरकाले, पल्लो घरकाले आफ्ना छोराछोरीलाई सम्झाउँन प¥यो भने, निशा र निशानकै नाम लिन्थे । भन्थे– “तिमेरुजस्ता कुलङ्गार छोराछोरी जन्मिनुभन्दा त बरु कोखै बाँजो होस्, गर्भ नै तुयोस्, जन्मिन्छन् भने निशा र निशानजस्तै जन्मिउँन् ।” साइँला काकाको परिवार गाउँको नमुना परिवार थियो । समाजको उदाहरणीय परिवार थियो । देख्ने र हेर्नेलाई एउटा सुखी परिवार थियो । खुशी परिवार थियो ।
निशे र म नातामा हामी दाजु बहिनी ।

तर हाम्रो उमेरको अन्तर दुई वर्ष मात्र भएकाले, हामी दाजु बहिनी कम र साथी बढी थियौँ । हाम्रो र निशेको घर त्यस्तै दश मिनेट जतिको दुरीमा थियो । उसको घर अलि गहिरो ठाउँमा पर्ने भएकाले गाम्का सबैले उसको घरलाई गहिरा घरे साइँला घर भन्थे । हामी एउटै गाउँमा जन्म्यौँ, एउटै माटोमा खेल्यौँ, एउटै माटोमा हु¥क्यौँ, एउटै बाटोमा हिँड्यौँ, सँगै मेलापात ग¥यौँ, घाँस दाउरा ग¥यौँ, सँगै गोठालो गयौँ र एउटै स्कूलमा पढ्यौँ पनि । म दश पढ्दा, ऊ आठमा पढ्थी ।

म बाह्रमा पढ्दा, ऊ दशमा । म एस. एल. सि. पछि गाउँकै क्याम्पसमा शिक्षा संकायमा, शिक्षा विषयलाई मूल विषय बनाएर बाह्र कक्षामा पढ्दै थिँए । उसको पढाई, मेरो पढाईभन्दा नि राम्रो थियो । ऊ कहिलेकाहीँ साथीसँग भन्थी– “म त एस.एल.सि. भ्यार शहराँ गर म्यानेजम्यान्ट ले’र पढ्नी हो, पढि भ्यार ब्याङ्का जागिर खानी हो ।” एस. एल. सि. दिएपछि म अलमल्ल परेको थेँ । अरु धेरै साथीकोजस्तै मेरो पनि कुनै स्पष्ट खाका थिएन ।

कुन विषय पढ्दा के हुन पाईन्छ ? कुन संकाय रोज्दा त्यसले कहाँ पु¥याउँछ ? आदि प्रश्नहरुमा म अनभिज्ञ नै थिएँ । यही अनभिज्ञता र अन्योलताकै बीच रिजल्ट आएसी लहैलहैमा लागेर शिक्षा संकाय रोजेको थिएँ,मैलेँ । निशे कति बाठी थिई । कति जानकार थिई । कति स्पष्ट खाका थियो उसको– भविष्यप्रतिको । यो–यो पढेर, यो–यो बनेर, यसो–यसो गर्छु भन्ने । त्यसै अनुरुप अगाडी बढ्दै पनि त थिई ऊ ।

आईतबारदेखि शुक्रबारसम्म विद्यालय जानु, आउँनु र शनिबार गोठालो जानु, हाम्रो दैनिकी थियो । रीता, गीता, सीता, किस्ने, निशा, बले, रामे र म मिलेर हामी गोठालो जान्थ्यौँ । बस्तु बाख्रा जंगलमा छोडेर, कहिले हामी हुतुतु खेल्थ्यौँ भने कहिले डुम खेल्थ्यौँ । कहिले डण्डिबियो त, कहिले गट्टा । यसरी नै हामी शनिबारको दिन रमाईलो गरेर बिताउँथ्यौँ ।

बस्तु, बाख्रा जाँ पुगुन्, जेसुकै खाउँन्, हामीलाई मतलब हुन्थेन । खेलिन्जेल, रमाईलो गरुन्जेल । घर लानी बेला भए’सि बाउको बिहे देख्थ्यौँ, बस्तु बाख्रा– खोज्दाखोज्दा । एकदिन हामीले सधैँ लाने ठाउँभन्दा फरक ठाउँमा लग्यौँ, किराको ढाँड । हुन त हामीले त्यस ठाउँमा पहिले पनि नलगेका होइनौँ, बस्तु बाख्रा । नकाटेका होइनौँ, घाँस दाउरा । तर त्यो एकदिन यसकारणले फरक थियो । त्यो ठाउँ यसकारणले नयाँ थियो । जहाँ हामी केही नयाँ गर्नेवाला थियौँ ।

नयाँ खेल खेल्नेवाला थियौँ । डण्डिबियो, हुतुतु, डुम र गट्टाभन्दा विल्कुल नयाँ, विल्कुल फरक । किस्ने र बले हाम्रो ग्रुपका अलि फटाहा थिए । कहिले कस्को उखु चोरेर, कहिले कस्को मेवा चोरेर, कहिले कस्को काँक्रो चोरेर हामीलाई नि खुवाईरहन्थे । उट्पट्याङ्ग–उट्पट्याङ्ग काम गरेर हामीलाई हँसाइरहन्थे । फटाहा थिए र पनि हाम्रा लागि प्रिय थिए– बले र किस्ने । उनीहरुले भनेर नै त्यस ठाउँमा बस्तु बाख्रा ल्या’का थ्यौँ । मनमा उत्साह र कुतूहल थियो । खन्याको बाटो बस्तु बाख्रा खेद्दै डिल कटाएसि रुखैरुख बीचमा सर्पझैँ लमतन्न सुतेको सानो (बस्तु बाख्रा, मान्छे हिँड्न मिल्ने )बाटोको छातीमा टेक्दै पन्ध्र मिनेट जति अगाडी बढेसि, हामी रुखविरुवा कम र कालैकाला ढुङ्गा थुप्रो बीच पुग्छौँ ।

जहाँ तल खोलादेखि माथि डाँडासम्म ढुङ्गैढुङ्गाको बस्ती छ । त्यसलाई पात्ले गाउँका सबै किरा ढाँड भन्थे । हामी किरा ढाँड भन्थ्यौँ । बस्तु बाख्रा दायाँ–बायाँ तह लाइदेसि, नारीले बीचबाट सिउँदो छुट्याएजस्तै, रुख विरुवालाई थोरै छुट्याएर पात्ले गाउँतर्फ सोझ्झेको कूलोभन्दा अलि माथि सगरमाथाझैँ चुच्चेका काला–काला !!ढुङ्गामाथि बस्छौँ । टुक्रुक्क–टुक्रुक्क । टाढाबाट हेर्नेहरुले हामीलाई बाँदर पनि सम्झे कि ? ढुङ्गामाथि बसेको केही छिन पछि किस्नेले हामी बसे ठाउँभन्दा थोरै तल औँलाले इशारा गर्दै भन्यो– “ऊ त्यहाँ त गुफा छ नि, बले र म अस्ति स्कूल नगा बेलाँ बाख्रा ल्याउँदा छिर्या ।”

बलेले नि थप्यो– “कम्ता रमाईलो भा हो र है किस्ने सर्पझैँ घिस्रिदैँ, एउटा दुलोबाट छिरेर अर्को दुलोमा निस्किँदा ।” किस्ने र बलेका कुरा सुनी नसक्दै हामीलाई हतार भैहाल्यो सर्पझैँ घिस्रिदैँ, एउटा दुलोबाट छिरेर अर्को दुलोमा निस्कन । भन्यौँ– ‘जाउँन हिँड हामी नि छिर्नी, हामी नि सर्पझैँ घिर्सिनि ।’ झर्यौ, हामी सबै कूलोमा । कूलोको डिलमुनि एउटा प्वाल ढुङ्गैढुङ्गाबीच तलतिरै गाको थ्यो । बुढापाकाले त्यस प्वाललाई देखाउँदै भन्थे– “त्यहाँ त किरो बस्छ ।” एउटा अनौठो खालको गन्ध पनि आउँथ्यो । मुटु ढक्क फुल्थ्यो । हातगोडा थर्रर काप्थेँ, अलि सानो छँदा । अहिले हामी त्यही प्वालभन्दा थोरै मात्र पर थियौँ ।

हाम्रो हिरो थिए, बले र किस्ने । बले र किस्ने अगाडी लागे । त्यसपछि रामे, सीते, रीते, गीते, म र लास्टमा थिई निशे । हामी सबैले बले र किस्नेलाई पछ्यायौँ । ढुङ्गैढुङ्गाबीचको साँघुरो बाटोमा, सर्पलेझैँ घिस्रिदैँ । गुफा त होइन र’च धेरै ठाउँ घिस्रिन पर्ने, कहीँ टुक्रुक्क बस्न मिल्ने ठाउँसम्म र’च । बीस–पच्चीस मिटर जति घिस्रेपछि, हामी अर्को दुलोबाट बाहिर निस्क्यौँ । धेरै चोटी सर्पझैँ घिस्रिदैँ, एक दुलोबाट छिरेर अर्को दुलोमा निस्किँदै रमाइलो गथ्र्यौँ हामी ।

एक चोटी बले र किस्ने मिलेर दुलोभित्रै हग्देछन् । रामे, सीते, रीते, गीतेको लुगामा ‘गू’ दल्लेछ । यो सुन्दा हामी मरीमरी हाँस्यौँ । अँ, निशे पनि अड्केकी थिई, एकचोटी बाहिर निस्कने ठाउँभन्दा थोरै पर दुलोमा । उसले मलाई बचाओ ! बचाओ !! भन्दा हामीले नै जीउलाई यसो गर, हात र खुट्टालाई उसो गर भनी आईडिया दिएर बाहिर निकाल्या थ्यौँ । अहिले पनि श्निशेले बचाओ ! बचाओ !! भनेझैँ लाग्यो । जुरुक्क उठेँ । दायाँ–बायाँ हेरेँ– घर, आँगन, मान्छेको भीड, रुवाई यथार्थ बोध भयोे । पुनः टाउको समाउँदै थुचुक्क चप्पलको डिलमै बसेँ ।

गाउँमै खेति किसानी, मेलापात, अर्मपर्म, खेलोफड्को गरेर नै चार जनाको परिवार धानिरहेका थिए, साइँला काका । गुडिरहेको थियो–जीवनको रथ । बाहिरबाट हेर्नेहरुले खुशी नै देख्थे, सुखी नै देख्थे–साइँला काकालाई । तर छोराछोरी बढेसँगै, बढ्दै गएको जिम्मेवारीले उनी भित्रभित्रै पिरोलिन्थे । छट्पटिन्थे । के गर्ने ? कसो गर्ने ? कसरी खर्च धान्ने ? कसरी छोराछोरी पढाउँने ? यी र यस्तै यावत् प्रश्नहरुले थिचिरहे । किचिरहे । यीनै प्रश्नवाचक चिन्हहरुको उत्तरमा पूर्ण विराम लगाउँन विदेशिएका थिए, साइँला काका ।

बीस महिना अघि । छोराछोरीको सुन्दर भविष्यको–मीठो सपना बोकेर । चार महिना पछि दशैँमा, घर आउँदै हुनुहुन्थ्यो काका । साइँली काकी यसै भन्थिन् । निशा पनि शहराँ गर पढ्न थालेसि– चार वटा फूल फूलेको एउटा बगैँचामा, दुईवटा फूल मात्रै बाँकी थिए । दुईवटा फूल हराएका थिए । केही वर्षका लागि– जीवनमा इन्द्रणी रंग भर्न, रंगको खोजी गर्दै ।

काठमाण्डौँ शहरको, बानेश्वरको, एउटा घरको, भुइँतलाको एउटा कोठा । मेरो बहिनीको कोठा, मेरो साथीको कोठा । झ्याल ढोका बन्द छन् । दुवै झ्यालमा भित्रबाट हल्का रातो भुइँमा बुट्टा भएको पर्दा टाँगिएको छ । ढोकामा पनि बाहिरबाट रातो भुइँमै बुट्टै भएको पर्दा हल्का पवनमा नारीको केश राशी लहरिएझैँ, लहरिरहेको छ, पवनसँगै ।

साइँली काकीको आँगनमाजस्तै यहाँ पनि कोठा बाहिर मान्छेको भीड लागेको छ । सबैका आँखा त्यही बन्द कोठातिरै सोझिएका छन् । केही रमिता हेर्न पाउँने लालसा बोकेर । मान्छे माहुरी भुन्भुनाएझैँ, भुन्भुनाउँदै छन् । कोही भन्छन्–“बिचरी ! किन मरेकी होली, यो लाउँलाउँ–खाउँखाउँ भन्ने उमेरमा ।” कोही भन्थे– “यस्ती नकचरी बाँच्नुभन्दा त मरेकै बेस ।” कोही भन्थे– “बिचरा ! बाउआमाको हालत के भा होला ?” भीडमा सबै आ–आफ्नै मन गढन्ते अड्कलबाजी वकलिरहेका थिए ।

यथार्थता के हो ? वास्तविकता के हो ? त्यो कसैलाई थाहै थिएन, निशा बाहेक । निशा जो पूर्वको घाम पश्चिममा अस्ताए जसरी अस्ताईसकेकी थिई । घाम त अर्को बिहानी फेरी उदाउँथ्यो । तर ऊ यो धर्तीमा कहिल्यै नउदाउँने गरी रहस्यहरु गर्भमै छोडेर अस्ताईसकेकी थिई । घटना प्रहरीमा पुगिसकेकोले ढोका फोड्ने आँट कसैले गरेनन् । केही समयपछि प्रहरी आईपुग्यो । ढोका अगाडीको भीडलाई हटाएर, ढोका फोड्न लाग्यो प्रहरी । ढोका फोडेसि कोठाको दृश्य जे देखियो– रातो सलको एक छेउ सिलिङ् फ्यानमा बाँधिएको छ । अर्को छेउ सुर्काने बनाएर निशाको घाँटीमा ।

कपालझैँ टाउको थोरै लत्रिएको छ । हातगोडा खान नपाएर भोकले लखतरान परेको मान्छेझैँ, भुइँतिर हेर्दै लत्रिएका छन् । त्यहीँ मुनी पल्टिएको छ टेबल । अर्ध निन्द्रामाझैँ आँखा थोरै खुल्ला छन् । ति एक जोर अर्ध आँखाले हामीलाई नै, हेरिरहेझैँ प्रतीत हुन्छ । भित्तामा काठको फ्रेममा सिसाभित्र निशा मुस्कुराई रा’छे–फ्यानमा झुण्डिएकी निशालाई हेर्दै । निशाको न्यानो स्पर्शको प्रतिक्षा गरिरहेझैँ लाग्छ, भित्तामा झुण्डिएका मेडल र प्रमाणपत्रहरुले । टेबलमा असरल्ल छरिएका छन्– किताप र कापीहरु ।

किताप र कापीले पनि निशाको हातको न्यानो स्पर्शको प्रतिक्षा गरिरहेझैँ लाग्छ । दराज, ¥याक, टेबल, कुर्चि, भाँडाकुँडा सबै–सबैले निशालाई नै टुलुटुलु हेरिरहेझैँ लाग्छ । निशा झुण्डिए जसरी भित्तामा झुण्डिएको छ– घडी । घडी त हिँडिरहेछ, टिक–टिक आवाज निकाल्दै । नहिँडेकी त निशामात्रै हो । नबोलेकी त निशामात्रै हो ।

प्रहरीले निशालाई फ्यानबाट छुटाएर भुइँमा सुताएको छ । ऊ लम्पसार छे, भुइँमा । झ्याल र ढोकाबाट हेर्नेहरुको भीड छ । मानौँ त्यहाँ कुनै चटके देखाइँदै छ । चिन्नेहरु सहानुभूतिमा बर्सिए । कोमल भएकाहरु रसाए । ढुङ्गे मनहरु त रसाएनन् पनि । साइँली काकी निशेलाई देख्ने बितिक्कै बेहोसजस्तै छिन् । बाँध बाँधेर खोलालाई रोक्ने प्रयास गरेजस्तै, म जर्वजस्ती मनको बाँध बाँधेर आँशु रोक्ने प्रयास गर्दैछु । तर अनायासै चुहिदिन्छन्, केही थोपा आँशु तप्प–तप्प । हृदय विदिर्ण छ । संसार घाम लागेर उज्यालिएको छ ।

मन अँह, उज्यालिएको छैन । विल्कुल भिन्न, अँध्यारो र शुन्यशुन्यमात्रै । प्रहरीले पुरै कोठा खानतलासी ग¥यो । दराज, टेबलको घर्रा, किताप र कापीका पाना, डायरी सबै–सबै । टेबलको छेउमा सादा कागजमा, केही लेखेर राखिएको थियो सायद । त्यसलाई चस्मावाला प्रहरीले उठाएर सरर पढ्यो र तीन–चार चोटी मोडेर खल्तीमा राख्दै, अन्य प्रहरीलाई डेथ बडी बोकेर हिड्न निर्देशन दियो । डेथ बडी, चिठ्ठी र केही आफन्त साथमा लिएर निस्क्यो प्रहरी त्यहाँबाट– एउटा रहस्य बोकेर ।

घटना एक कान दुई कान गर्दै, सबैको कानमा पुगिसकेको थियो । उता कतार गा’का काकाले पनि घटना थाहा पाईसक्नु भाथ्यो । सोच्थेँ– छोराछोरीको सुन्दर भविष्यको लागि विदेशिएको बाउ, छोरीको यस्तो खबर सुन्दा कुन अवस्थबाट गुज्रेको होला ? कस्ले सम्हाल्यो होला, त्यो पीडामा ? त्यो छट्पटीमा ? त्यो बेचैनीमा ? कठै ! त्यो अभागी बाउ, जसले छोरीको अन्तिम चोटी मुखसम्म हेर्न पाएन ।

मायाले मुर्सान पाएन । धित मरुन्जेल रुन पाएन । जसलाई हिजोसम्म सुखी र खुशी देख्थ्यो समाज । आज त्यही व्यक्ति, आज त्यही परिवार– आँशुको पोखरीमा डुबिरहेको थियो । छट्पटाईरहेको थियो । चिच्याईरहेको थियो । हामी लाचार भएर हेर्न विवश हेर्न थियौँ । मुटु नै छिया–छिया पार्ने कारुणिक दृश्यहरु ।

प्रहरीले डेथ बडीलाई त्रि. वि. शिक्षण अस्पताल महारागन्ज पठाएको थियो, पोष्टमार्टमका लागि । चिठ्ठीबाट नि केही रहस्य खुलासा हुनेवाला थियो वा रहस्य, रहस्यकै रुपमा रहने थियो । त्यो कसैलाई थाहा थिएन । चिठ्ठी बोक्ने प्रहरी र लेख्ने निशा बाहेक । त्रि. वि. शिक्षण अस्पतालले पोष्टमार्टमपछि रिपोर्ट दिएको थियो– मृतक युवतीको पेटमा तीन महिनाको गर्भ रहेको र झुण्डिएकोले रक्त सञ्चारमा बाधा उत्पन्न भई मृत्यु भएको भन्ने ।

एउटा रहस्य खुले पनि, अरु थुप्रै रहस्यहरु खुल्न बाँकी नै थिए । किन ? कसरी ? कहिले ? कस्को ? जस्ता प्रश्नवाचक चिन्हहरु कुप्रिएको थियो,हाम्रो अघि प्रश्न गर्दै । कुप्रिएका प्रश्नवाचक चिन्हहरुको प्रतिउत्तरमा पूर्ण लाग्छ या लाग्दैन, अन्यौँलमा थियौँ हामी । म, काकी र अरु दुई–तीन जना आफन्तलाई प्रहरीले छुट्टै बोलायो । चस्मावाला प्रहरीले खल्तीबाट चिठ्ठी निकाल्यो र एक नजर हामी तिर फाल्यो । पुनः आँखा यथास्थितिमा लगि चिठ्ठी खोलेर पढ्न सुरु ग¥यो । जसमा लेखिएको थियो–

पूजनीय बाबा मामु,
साष्टाङ्ग दण्डवत प्रणाम ।
प्राणभन्दा प्यारो कान्छु, मिठो सम्झना ।
खै ! कहाँबाट सुरु गरुँ, मेरो यो कहाली लाग्दो जीन्दगीको कथा । कसरी भनँु, के गरी लेखँु यो अत्यास लाग्दो जीन्दगी व्यथा । बाबा मलाई माफ गर्नु होला । मामु मलाई क्षमा गर्नु होला । आफू भोकै बसेर नि मलाई खुवाउँनु भो । आफू रुएरै पनि मलाई हँसाउनु भो ।

मेरा कोपिलारुपी सपनाहरुलाई फूलाउँन विदेशिनु भो । टाढिनु भो । पचास–पचपन्न डिग्रीको तापमान सहेर पनि मेरा रहरहरुमा, मेरा सपनाहरुमा इन्दे्रणी रंग भर्नु भो । के सोचेर यो शहर आथेँ ? के बन्छु भनेर शहर छिर्या थेँ ? के भएँ म ? यो के गरेँ मैँले ? यो सब कसरी बताउँ हजुरहरुलाई ? मान्छे भ्रममा बाँच्दो रहेछ । म पनि भ्रममा बाँचेको रैछु । जब मेरो आँखाबाट, मेरो मनबाट भ्रमको पर्दा उघारियो । तब म धेरै ढिला भैसकेछु, बाबा ।

देखेकै कुराहरु पनि, भोगेकै कुराहरु पनि सधैँ सत्य नहुँदा रहेछन् मामु । छेपारोलेझैँ, यहाँ मान्छेहरु पनि रंग फेर्दा रहेछन् । उसले पनि फे¥र्यो बाबा रङ्, जसलाई म जीवनको रङ् ठान्थेँ । भग्वान् मान्थेँ । भगवान् पनि कहिलेकाहीँ राछेस् बनिदिँदो रै’छ । जसलाई मैले भगवान् ठानेर यो शरीर, यो जीन्दगी नै प्रसादस्वरुप चढाएँ । उसैले मेरो यो हालत बनायो मामु । एघार कक्षामा भेट भएका हामी, बाह्र कक्षामा पुग्दा एकअर्कोलाई मन पराउँन थालिसकेका थियौँ ।

ऊ पनि राम्रो पढ्थ्यो । मान्छे नि राम्रो थियो । हामी एकअर्कोलाई असाध्यै माया गथ्र्यौँ । आगोको रापमा नौँनी पग्लिएझैँ, हामी एकअर्काको मायामा पग्लियौँ । झ¥र्यौँ । बग्यौँ । यी लोभी भमराहरु फूलको रस नचुसुन्जेल मात्र रै’छ, पिछा गर्ने मामु । रस चुसेपछि त उडेर जाँदा रैछन् टाढा कतै । विचरा ! फूल के गरोस् ? प्रतिक्षामा दिन कटाउँन बाहेक । उसले पनि पिछा गरी–गरी रस चुस्यो । जबसम्म उसको चुसाईको नासो मेरो पेटमा हुर्कदैँ छ भन्ने था नपाउन्जेल ।

जब थाहा पायो, तब ऊ म देखि टाढिन थाल्यो । भेटघाट बन्द ग¥यो । कलेज आउँनै छाड्यो । धेरै खोजेँ, धेरै सोधेँ, भौँतारिएँ, छट्पटिएँ । प्रतिक्षामा कयौँ रात बिताएँ, कयौँ दिन बिताएँ । अँह ! ऊ आएन । अँह ! ऊ फर्केन । भु–कम्पजस्तै दुई–चार चोटी मेरो जीवनमा आएको ऊ, पराकम्पनजस्तै हजार बार गइरह्यो– पलपल, क्षणक्षण । संसार जित्छु भनेर गाउँबाट शहर छिरेकी म आफैँसँग हारेँ ।

आफैँसँग हारेपछि, आफैँसँग थाकेपछि– संसारका कुनै पनि वस्तुप्रति मोह नजाग्दो रै’छ । बारबार एउटैमात्र सोच आउँदो रहेछ । म सँग विकल्प त थुप्रै थिए । तर ति विकल्प पनि ऊ नै नभएसि नदीले छोडेर गा’को, बगरमा पल्टेको ढुङ्गाजस्तै लाग्यो । सबैतिर अँध्यारो नै अँध्यारोमात्रै देखेँ । वर्तमानका यति अँध्यारा दिनहरु, भविष्यमा झन् कति अँध्यारा र कहाली लाग्दा हुने हुन्, म सोच्न पनि सक्दिँन । म बाँचेर तपाईँहरुलाई पलपल मरेको हेर्न सक्दिँन म ।

त्यसैले म यो आत्महत्याको बाटो रोज्दै छु । म उसको नाम, ठेगाना र घर बताउँन चाहँदिन । माफ गर्नु होला । म उसलाई प्रेम गर्छु, हृदयदेखि । म उसलाई चाहन्छु, मनदेखि । त्यसैले म ऊ दुः खी भएको हेर्न सक्दिँन । ऊ रोएको सहन सक्दिँन । ऊ जसरी आयो मेरो जीवनमा, ऊ त्यसैगरी नै गयो मेरो जीवनबाट– रहस्यमय बनेर ।

म उसलाई, उसैगरी रहस्यमै छोडेर जान चाहन्छु । टाढा– धेरै टाढा । कसैले नभेट्ने ठाउँ । कान्छु, राम्रोसँग पढ्नु । बाबा, मामुलाई दुः ख नदिनु । ठुलो मान्छे बन्नु । गाउँलाई सम्झेको छु । गाउँले सबैलाई सम्झेको छु । माफ गर्नु होला, बाबामामु यो पापीनी छोरीले तपाईँहरुका चाहना र सपना पुरा गर्न सकिन । सहारा बन्न सकिन ।

यो चिठ्ठी हजुहरुले पढ्दा म टाढा गैसकेको हुनेछु । टाढा धेरै टा…ढा…। चाहन्छु, अर्को जन्म भएछ भने पात्ले गाउँमै जन्मिन पाउँ । हजुरहरुकै छोरी भएर जन्मिन पाउँ । तपाईँहरुका अधुरा सपना पुरा गर्न पाउँ । बाई बाबा । बाई मामु ।। बाई कान्छु ।।।
–उही तपाईँहरुकी अभागी, पापीनी छोरी निशा ।

सबैका आँखा रसाएका छन् । एकोहोरो बाजा बजाएर निशा मण्डप घुम्ने तयारी गर्दै छे, पशुपती आर्यघाटमा । वारिपारि मान्छेको भीड छ । हेर्छु, साइँली काकी बेहोस् छिन् । कठै ! कति अभागी आमा, मेरी काकी– छोरीलाई डोली चढाई, अन्माएर बिदा गर्ने उमेरमा, चित्तामाथि चढाएर अन्त्येष्टि गर्दै छिन् ।

कति अभागी बाउ मेरो काका– जो छोरीको लागि विदेशिए, उसैले छोरीको अन्तिम चोटी मुख हेर्न सम्म पाएनन् । काकीसँगै धित मरुन्जेल रुन पाएनन् । म अभागी दाजू– बहिनी पिठ्युँमा बोकेर, जग्गे घुम्ने बेलामा, चित्तामाथि चढाउँन चित्ता घुम्दैछु । अभागी पात्ले गाउँ– जसले निशाजस्ती छोरी गुमायो । आशा गुमायो । भरोसा गुमायो । सबैका हातमा माला र फूलका थुङ्गा छन् । निशालाई चढाउँन तयार हातको फूल हेर्छु, सोच्छु– ऊ पनि त यही फूलजस्तै फक्रिन खोज्दै थिई ।

तर झरी नफक्रिँदै विषालु भमराको विष लागेर । हातको फूल मुर्साछु, फुल होइन, मेरो साथीलाई मुर्साछु, मेरो बहिनीलाई मुर्साछु– अन्तिम चोटी । अलि परतिर छेवैमा धुँवाको मुस्लो छोड्दै एउटा लासमाथि आगो दन्किँदै छ । खरानी बन्दैछ । सोच्छु– यसैगरी दन्किने छ आगो, मेरो साथीमाथि, मेरो बहिनीमाथि । यसैगरी खरानी हुनेछे, केही क्षणमा र बगेर जानेछे– बाग्मतीको पानीसँगै । उफ् ! लाग्यो आगो, दन्क्यो आगो, क्षणभरमै खरानी बनी र बगेर गई बाग्मतीको पानीसँगै । हामीलाई, पात्ले गाउँलाई सदासदाका लागि छोडेर । एक्लो बनाएर । कहिल्यै नफर्किने गरी ।

प्रतिकृया दिनुहोस्