News Portal

“रातो सलाम”

विवेक लामा
१६७६ पटक

ए महान् सहिदहरु
ए महान् वीरहरु
अन्यायको विरुद्ध
न्याय खोज्ने महान् पुरुषहरु
स्वतन्त्रता प्राप्तिको लागि
आफ्नो जीवन आहुती दिने
प्यारो मान्छेहरु
तिमीलाई जनक्रान्तिको भुमिबाट
रातो सलाम !

पुरानो युगको अन्त्य गर्दै
नयाँ युगको निर्माण गर्न
शिरमा रातो कफन बाधी
क्रान्तिको ज्वाला दन्काउँदै
इन्क्लाब जिन्दावाद भन्दै
हिड्ने महान् मान्छेहरु
अदम्य साहस, दृढ संकल्प सहित
सर्वहारा वर्गको मुक्तिको निम्ति
आफ्नो अमुल्य जिवनलाई
दाउमा राखेर
व्यक्तिगत स्वार्थभन्दा माथी उठेर
आफ्नो अमुल्य जीवन
कुर्वानी गर्ने महान् मान्छेहरु
जनक्रान्तिको मोर्चाबाट रातो सलाम !

संसारलाई नयाँ सन्देश दिन
उन्मुक्त र सुन्दर समाज निर्माण गर्न
हजारौं अप्ठेरो र चुनौती झेल्दै
मरे सहिद बाँचे सिङ्गो संसार
भन्दै क्रान्तिको मुठ्ठी उठाउनेहरु
एक थोपा रगत र एक मुट्ठी सास
रहुन्जेल सम्म
गरिब र निमुखा जनताको
सुदिन न आएसम्म
अन्तिमसम्म लड्ने कसम खाएका योद्धाहरु
आततायी, जल्लादहरुले
आफ्नो भौतिक शरीरलाई
छियाँ छियाँ पार्दा समेत
कुनै पर्वाह नगरी
बहादुरीका साथ
क्रान्ति जारी छ भन्दै
गगन भेदी नारा उराल्ने महान् सपुतहरु
जनक्रान्तिको लाल बस्तीबाट रातो सलाम !

क्रान्तिका मार्गदर्शक महान् योद्धाहरु
जसले देख्यो मुक्तिको सपना
जसले देख्यो सुन्दर र मुक्त समाज
जसको सौर्य, साहस र बलिदानले
संसार मुक्त हुनेछ
नयाँ युगको नयाँ इतिहास कोर्ने
महान् सपना बोकेर
आजादी संसार बनाउने
लक्ष्य लिएर हिडेका वीरहरु
लाल इतिहासको पानामा
आफ्नै रगतले आफ्नो नाम
लेख्न सफल महान् सहिदहरु
मुक्ति वा मृत्युको भीषण संघर्षमा
जीवन बलिदानी गर्ने महा मानवहरु
मानव जिवन कै उत्कृष्ट
व्यवस्था निर्माण गर्न
क्रान्तिको बाटोमा मोर्चा कस्दै
दुश्मनको किल्लामा आँधी बेहरी
सृजना गर्ने रक्तबीजका राता मान्छेहरु
सगरमाथाको काखबाट रातो सलाम !

प्रतिकृया दिनुहोस्