News Portal

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको निधन

रातोपोस्ट संवाददाता
५८७ पटक

वीरगञ्ज, १७ वैशाख। पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । अध्यक्ष कुशवाहाको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

कालिकामाई गाउँपालिका–२ भेडिहारी घर भएका अध्यक्ष कुशवाहाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो । पछिल्लो केही दिनयता वीरगञ्जस्थित डेरामा राखेर उपचार भइरहेको थियो । उनको छोरा नै डाक्टर हुन् । उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको परिवारका सदस्यले बताएका छन् । कालिकामाई गाउँपालिका वडा नं. ५ का अध्यक्ष पवन तिवारीका अनुसार राति २ बजेतिर अध्यक्ष कुशवाहाको अवस्था बिग्रिएको थियो ।

‘बेलुकासम्म ठिकै हुनुुुहुन्थ्यो, भेटेरै आएका थियौं, कुराकानी गरिरहनुभएको थियो,’ उनले भने, ‘राति २ बजेतिर स्थिति अलि बिग्रिएको जानकारी आयो, काठमाडौं लैजाऔं न त भन्दा सुधारोन्मुख नै छ भन्ने कुरा आएको थियो । तर पछि निधन भयो ।’ दाहसंस्कारका लागि उनलाई गाउँतर्फ लगिएको प्रहरीले जनाएको छ । कुशवाहा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन जनता दलबाट कालीकामाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।  संघीय समाजवादी पार्टीका उम्मेदवार दिनेश कलवारलाई ६० भोटले हराउँदै उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।  पञ्चायतकालमा प्रधानपञ्च बनेका उनी ०४६ सालपछि गाविस अध्यक्ष समेत भएका थिए ।

प्रतिकृया दिनुहोस्