News Portal

कोरोना पीडा : ‘एक्स-रे’ पनि गर्न मान्दैनन् अस्पताल

रातोपोस्ट संवाददाता
७५८ पटक

झापा, २५ बैशाख । झापामा होम आइसोलेसनमा बसेका संक्रमितले उपचार पाउनबाट बन्चित बन्न थालेका छन् । झापा बिर्तामोड नगरपालिका –४ का कोरोना संक्रमित परिवारले छातीको एक्स–रे गर्न का लागि तीनवटा अस्पताल चाहार्नु परेको छ। ‘

होम आइसोलेसनमा बेसका आफ्ना परिवारका सदस्यलाई एक्से–रे गर्नका लागि विर्तामोड स्थित विएण्डसी अस्पतालमा बुझ्दा अस्पतालमा भर्ना भएका बाहेकको एक्सेरे गर्न नसकिने जवाफ आएको रेडियो भिजनका प्रवन्ध निर्देशक गणेश पोख्रेलले बताए । उनले भने, त्यसपछि मेची अञ्चल अस्पतालमा सम्पर्क गर्दा समान विग्रेकाले एक्सेरे गर्न नसकिने जवाफ आयो । उनले त्यसपछि विर्तामोडकै विर्तासिटी हस्पिटलमा एक्सरे सुविधा लिएको बताए।

झापाको सबैभन्दा सुविधा सम्पन्न अस्पतालमा काठमाडौंबाट हेलिकप्टरमा कोरोनाका बिरामी ल्याइएको भनी प्रचार गरिएपनि बिएन्डसी अस्पतालले स्थानीय विरामीहरुलाई सुविधा लिनबाट बन्चित गरेको छ। नेपाल प्रेस काउन्सिलका सदस्यसमेत रहेका पत्रकार पोखरेलको परिवारका ६ जना सदस्य कोरोना संक्रमित भइसकेका छन्। सबैजना हाल होम आइसोलेसनमा छन्। संक्रमितलाई निमोनिया भएको छ कि छैन भनेर थाहा पाउनका लागि एक्स–रे गरिन्छ। कोरोना महामारीका बेला सरकारी र निजी जुनसुकै अस्पतालले संक्रमितलाई एक्स–रे सुविधा दिनु पर्ने हो। तर, सरकारी अस्पताल मेचीले समेत यो सेवा दिने गरेको छैन।

पत्रकार पोखरेलले बिएन्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरी र मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेललाई फोन सम्पर्क गरेर एक्स–रे सुविधाका लागि अनुरोध गरेको बताए। उनले विर्तासिटी हस्पिटलमा एक्स–रे गरिदिने भएपछि बिरामी बोक्न एम्बुलेन्ससमेत नपाएको बताए। ‘संक्रमित भएका बिरामीलाई अस्पतालसम्म लैजान एम्बुलेन्स चाहियो भनेर थुप्रै ठाउँ हारगुहार गरियो,’ उनले भने,‘तर कहीँ पाइएन।’

विर्तामोड नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्की र स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्कालाई आफूले सम्पर्क गरेको उनले बताए। त्यसपछि एकजना चिनेको निजी गाडीका चालकलाई अनुरोध गरेर निजी गाडीमै संक्रमितहरुलाई अस्पतालमा लगिएको पोखरेलले बताए। झापामा यो बाहिर आएको प्रतिनिधि घटना मात्रै हो। यस्तो सास्ती र हुर्मत सहनेहरुको संख्याको ग्राफ फराकिलो छ।

प्रतिकृया दिनुहोस्