News Portal

आज २८औं मदन-आश्रित स्मृति दिवस

रातोपोस्ट संवाददाता
४०७ पटक

काठमाडौं, ३ जेठ । आज जेठ ३ गते अर्थात् मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २८ वर्ष पूरा भएको छ ।

उक्त दिनको सम्झनामा नेकपा एमालेले हरेक वर्ष कार्यक्रम आयोजना गरी दुवैले दिएको योगदानको स्मरण गर्दै स्मृति दिवस मनाउँदै आएको छ । पोखराबाट सभा सम्पन्‍न गरेर चितवन आउँदै गर्दा दुई नेता चढेको जीप चितवनको दासढुङ्गाबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जीप चालक अमर लामा भने जीवित थिए ।

लामाको पनि २०६० सालमा हत्या भएपछि घटना थप रहस्यमय बनेको थियो । त्यसपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । मदनकी श्रीमती विद्यादेवी भण्डारी हाल मुलुकको राष्ट्रपति रहेकी छन् । केही विश्‍लेषकहरुले यो दुर्घटना नभई हत्या भएको हुनसक्‍ने कुरा उठाइरहँदा राष्ट्रपतिजस्तो उच्च पदमा रहँदा समेत दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन नसकेको भन्दै उनको आलोचना समेत हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्