News Portal

नगरपालिकाे लापरवाहीकाे कारण संक्रमित आफैले अटोरिक्सा चलाएर परिवारको परीक्षण गराए

रातोपोस्ट संवाददाता
५३६ पटक

झापा, ३ जेठ । झापाको बिर्तामोड नगरपालिकाकाे लापरवाही कारण काेराेना संक्रमित आफैले अटोरिक्सा चलाएर परिवारको स्वास्थय परीक्षण गराए छन । बिर्तामोडमा रहेको रेडियो भिजनमा काम गर्ने पत्रकार बिर्तामोड २ चैतुवाडीका पुष्प बराललाई गत वैशाख ९ गते एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ देखियो। त्यसपछि उनी घरमा अलग्गै बस्न थाले। वैशाख १२ गतेसम्म उनलाई कोरोना संक्रमणका लक्षणले समातिसकेको थियो। तर पनि पिसिआर परीक्षण गर्नका लागि उनी आफै मोटरसाइकल चलाएर कनकाईको पिसिआर परीक्षण प्रयोगशाला गए। त्यहाँको रिपोर्ट पनि पोजिटिभ आयो।

जब उनी होम आइसोलेसनमा बसे, त्यसपछि उनका बाबु-आमालाई पनि कोरोना संक्रमणका लक्षणहरू देखिन थाले। बाबु-आमाको परीक्षण गराउनका लागि उनले धेरै हार गुहार गरे। तर कतै उनका कुरा सुनिएन। आफ्नै स्थानीय तह बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह उनले गरे। उनलाई पिसिआर परीक्षण प्रयोगशालासम्म पुग्नु थियो बाबु-आमा लिएर।

नगरपालिकाले सवारी साधन उपलब्ध गराउन सकेन। त्यसपछि प्रहरीमा सम्पर्क गर्दा कोरोना पोजिटिभ भएका व्यक्तिहरू अस्पताल पुर्याउन सकिँदैन भन्ने जवाफ उनले पाए। उनले भने, ‘घरमा कोही पाएका छैनन्। अनुरोध गर्दा पनि सरकारी निकायले बाबु-आमालाई अस्पताल पुर्याउन सकिने अवस्था रहेनन्।’ वैशाख २० गतेको दिन उनले जसरी पनि परीक्षणका लागि मेची अस्पताल बाबु-आमा लैजाने अठोट गरे। एकजना चिनजानका मान्छेको अटोरिक्सा मागे। अटोरिक्सामा बाबु-आमा, श्रीमती र छोरी राखेर कोरोना संक्रमित आफैंले अटो हाँकेर मेची अस्पताल पुर्याए।

बरालले भने, ‘मेरा आफ्नै खुट्टा कामिरहेका थिए। कहिले नकुदाएको अटोरिक्सा कुदाएर लैजाने भन्दा अर्को उपाय थिएन।’ उनी अहिले सम्झन्छन् ‘धन्न त्यो दिन दुर्घटना भएन।’ परीक्षणमा बाबु-आमाको रिपोर्ट पोजिटिभ आयो भने श्रीमती र छोरीको नेगेटिभ।

अहिले सबैजना संक्रमणमुक्त भइसकेका छन्। बराल भन्छन्, ‘संक्रमण भइसकेपछि तपाईंलाई कसैले पनि हेर्दैन। यो संक्रमण अत्यन्तै घातक छ। संक्रमण हुन नदिन नै ध्यान पुर्याउनु होला। मैले त चेतें। तपाईंहरूले चेत्नु नपरोस्।’ कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र बनिरहँदा अहिले प्रायः संक्रमित घर/घरमा छन्। होम आइसोलेसनमा बसेका संक्रमितहरूको समयमा स्वास्थ्य जाँच नहुँदा मृत्युदर बढिरहेको तथ्यांक बाहिर आइरहेको छ।

तर घरमा बस्न जोखिम भए पनि अस्पतालहरूमा उनीहरू हतपत जान मान्दैनन्। खासगरि स्थानीय तहका स्वास्थ्य शाखाले संक्रमितहरूको सोधखोज तथा उनीहरूको कोरोना परीक्षणको व्यवस्था राम्ररी नगरिदिनुका कारण संक्रमित तथा परिवारका सदस्यले तनाव खेप्नु परिरहेको छ। देश सञ्चार

प्रतिकृया दिनुहोस्