News Portal

गरिब जनतालाई यस्तै ठिक छ सरकार ???

रातोपोस्ट संवाददाता
९६७ पटक

हनहनी ज्वरो आउँछ
ज्यान दुख्छ
छाती पोल्छ
यद्यपी म डाक्टरसँग उपचार गराउन सक्दिनँ
किनकी,
डाक्टरले उपचार गर्ने पैसाले मेरो घर जान्छ
खेत जान्छ, अनि घडेरी जान्छ

कोरोनाको महामारीले विश्व त्रसित हुँदा
मेरो नाकबाट गन्ध जान्छ
मुखबाट स्वाद जान्छ
शरीरबाट शक्ति जान्छ
तर, मनबाट भय जादैँन
त्यसैले म डरले चुपचाप घर बस्छु

बेसार पानी उमालेर पिउँछु
सिटामोल खान्छु
गरिब जनतालाई त सिटामोल नै ठिक छ सरकार

समाचारमा सुन्छु,
अस्पतालमा बिरामी सुत्ने बेडको अभाव छ रे
सास फेर्न अक्सिजन सिलिण्डरको अभाव छ रे
त्यसैले त म आफूलाई तन्दरुस्त बनाउने कोशिशमा
वाफ लिन्छु
रुखहरुले दिएको अक्सिजन आनन्दले लिन्छु
गरिब जनतालाई त यस्तै ठिक छ सरकार

अँ साच्चै सरकार
तिमीले त आर्यघाटमा दाउराको जोहो पनि गरिसक्यौ
तिमीलाई सिमसार मास्नु हुन्न भन्ने चिन्ता छैन
वन संरक्षण गर्नुपर्छ भन्ने चिन्ता छैन
रुख विरुवा जोगाउने चिन्ता छैन
केबल चिन्ता छ त दाउराको

रोग आउँदा राजनीति
लागिसकेपछि राजनीति
उपचार गराउन राजनीति
मृत्यूपश्चात लास जलाउने
बेलामा पनि राजनीति
यो कस्तो नीति हो सरकार ?

म कुनैदिन रोगसँग लड्दा लड्दै थाकेँ भने
तिमीले जोहो गरिदिएको दाउराको चितामा
आनन्दले मृत्यूवरण गर्नेछु सरकार
तर फेरि म सोच्छु,
मृत्यूपश्चात कोरोनाकै कारण लडेको मेरो लाश
उठाएको रकम तिर्न मेरो परिवारलाई
हम्मे हम्मे पर्नेछ सरकार
त्यसैले त गरिबलाई यस्तै ठिक छ सरकार
यस्तै ठिक छ।
रुमु न्यौपाने

प्रतिकृया दिनुहोस्