News Portal

कृष्ण थापालाई सांसदबाट हटाउने जनमोर्चाको निर्णय

रातोपोस्ट संवाददाता
६७३ पटक

कास्की, २० जेठ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई सांसद पदबाट हटाउने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले थापालाई प्रदेश सभा सदस्यबाट हटाउने निर्णय गरेको जनमोर्चा प्रवक्ता दुर्गा पौडेलले बताइन्। “पार्टीको निर्णय विपरीत काम गरेकाले हटाउने निर्णय गरिएको हो,” पौडेलले भनिन्। 

गण्डकी प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि जनमोर्चाले समर्थन जनाएको भए पनि उनले पार्टीको निर्देशन मानेका थिएनन्। नेकपा (एमाले)लाई सहयोग गरेका थिए। जसले गर्दा उनलाई कारबाही गर्नुपरेको जनमोर्चाले जनाएको छ। 

उनलाई सांसद पदबाट हटाएको निर्णय प्रदेश सभा सचिवालयलाई बुझाएको छ। जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेश सभामा जनमोर्चाकी सचेतक पियारी थापाले केहीबेर अघि पत्र बुझाएका हुन्। आजै प्रदेश सभा बैठक बस्दै छ। उनलाई हटाएको पत्र प्रदेश सभामा बढेर सुनाइने भएको छ। त्यससँगै उनी पदमुक्त हुनेछ। उनी बागलुङ १ ‘ख’बाट निर्वाचित भएका थिए। जनमोर्चाले यसअघि नै उनलाई केन्द्रीय सदस्य र पार्टी सदस्यबाट निलम्बन गरेको थियो। 

प्रतिकृया दिनुहोस्