News Portal

उपमेयरकाे चुनावमा ९९ भोट ल्याएकी रेणुका भइन् मन्त्री

रातोपोस्ट संवाददाता
५७९ पटक

काठमाडौं, २२ जेठ । टोखा नगरपालिकको उपप्रमुखका लागि भएको निर्वाचनमा ९९ मत प्राप्त गरेकी रेणुका गुरुङ मन्त्री बनेकी छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार उपप्रमुख पदमा ९९ मत प्राप्त गरेकी उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्।

महन्थ ठाकुर पक्षीय जनता समाजवादी पार्टीको सिफारिसमा ओलीले उनलाई राज्यमन्त्री बनाएका हुन्। राज्यमन्त्री गुरुङले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन्। उपप्रमुखमा पराजित भएकी गुरुङलाई उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बन्न सफल भइन्।

जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष उपेन्द्र यादव पक्षकी गुरुङले पछिल्लो समय अर्का अध्यक्ष महन्थ ठाकुरलाई सघाएकी थिइन्। ठाकुरलाई सघाएपछि उनले मन्त्री पद हात पारेकी हुन्। गुरूङसहित ६ जना सांसदले फोरम फुटाउन लागेपछि रातारात राष्ट्रिय जनता पार्टीबीच एकता गरी जसपा बनाइएको थियो। उनीसँगै जसपाबाट १० जना मन्त्री बनेपछि जसपा विभाजनको झन् डिलमा धकेलिएको छ। टोखा उपप्रमुखमा एमालेकी ज्ञानमाया डंगोलले ८ हजार ९८ मत पाएर विजयी भएकी थिइन्।

प्रतिकृया दिनुहोस्