News Portal

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री, कसको कति सांसद ?

रातोपोस्ट संवाददाता
४०७ पटक

पाेखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदैछन्। प्रदेश संसदको सबैभन्दा धेरै सदस्यहरू भएको पार्टी एमालेको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार संसदमा विश्वासको मत लिन लागेका हुन्।

त्यसकै लागि मंगलबार प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट संसद बैठक आह्वान भएको हो। गुरुङ यसअघि २९ वैशाखमा मुख्यमन्त्री बनेका थिए। त्यसको तीन दिन अघि अर्थात् २६ वैशाखमा उनले राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६७ को (३) अनुसार दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमतसहित मुख्यमन्त्री पदमा दाबी गर्न तीन दिनको समय उपलब्ध भएको थियो।

कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनले तोकिएको समयमा बहुमतसहित दाबी प्रस्तुत गर्न सकेन। त्यसपछि गुरुङ संविधानको धारा १६७ को (३) अनुसार ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन्। सत्ता साझेदार माओवादी केन्द्रले गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन २५ चैतमा फिर्ता लिएको थियो।

कसको कति सांसद?
गण्डकी प्रदेशमा निर्वाचित सांसद सङ्ख्या ६० हो । त्यसमध्ये एमालेको उपसभामुखसहित २७ जना सांसद छन्। नेपाली कांग्रेसको १५ जना, माओवादी केन्द्रको सभामुखसहित १२ जना, जनता समाजवादी पार्टीको दुई जना र राष्ट्रिय जनमोर्चाको दुई जना सांसद रहेको प्रदेश सचिव हरिराज पोखरेलले केन्द्रविन्दुलाई बताए। स्वतन्त्र एक जना सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले मुख्यमन्त्री गुरुङलाई समर्थन गरेका छन्।

जनमोर्चाले हटाएको तर सर्वोच्चको अन्तरिम आदेशबाट पदमा पुनर्वहाली भएका सांसद कृष्ण थापा पनि मुख्यमन्त्री गुरुङकै पक्षमा उभिने भएका छन्। यसरी विश्वासका मतका लागि ३१ सांसदको मत आवश्यक हुन्छ। तर, विश्वासको मत प्राप्त गर्न सक्ने मुख्यमन्त्री गुरुङको सम्भावना न्यून छ। विपक्षी गठबन्धनले पनि विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन। त्यही भएर मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन नसके मध्यावधि निर्वाचनको घोषणा गराउन सक्ने बताइएको छ।

मतदान यसरी हुन्छ
गण्डकी प्रदेश सचिव पोखरेलका अनुसार विश्वासको मतका लागि तीन प्रकारको मतपत्र तयार छ। पहिलो पत्रमा–विश्वासको मत छ। सबै (६० जना) सांसदको नामावली छ। दोस्रो पत्रमा–विश्वासको मत छैन। सबै (६० जना) सांसदको नामावली छ। तेस्रो पत्रमा–तटस्थ बस्छु । सबै (६० जना) सांसदको नामावली छ। प्रदेश सचिव पोखरेलले विश्वासको मतका लागि संसद् बैठक आज मध्यान्ह १२ बजे आह्वान भएको बताएका छन्।

प्रतिकृया दिनुहोस्