News Portal

पहिरोका कारण बागलुङमा पाँच घर विस्थापित, सडक अवरुद्ध

रासस
९४७ पटक

बागलुङ, १ असार । पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन्। काठेखोला गाउँपालिका-७ जिरेदीमा घरमाथि र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

सदरमुकाम बागलुङ बजार हुँदै रेस जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो। जिरेदीका चित्रबहादुर कार्कीको घरमाथिबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए। सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन्। सबै परिवारका सदस्यलाई अन्यत्र सार्न थालिएको छ।

वर्षा र पहिरो नरोकिएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्न लागिएको हो। पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल टुटेको छ। कालिगण्डकी करिडोरको मालढुङ्गामा पहिरोले अवरुद्ध गरेको छ। बागलुङ–कुश्मीशेरा सडक, बागलुङ–बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामबाट वडा कार्यालय तथा गाउँ वस्ती जोड्ने सबै सडकका ठाउँ ठाउँमा पहिरो खसेको छ।

प्रतिकृया दिनुहोस्