News Portal

वाईसीएलद्वारा पूर्व जनसेना, घाईते र सहिद परिवारलाई खाद्यान्न सहयोग

रातोपोस्ट संवाददाता
११७० पटक

झापा, २ असार । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल १ नम्बर प्रदेशले झापा, मोरङ र इलामको चुलाचुलीमा बसोबास गर्ने पूर्व जनमुक्ति सेना नेपालको परिवारलाई खाद्यान्न वितरण गरेको छ । संगठनका प्रदेश कमिटी संयोजक कर्म पूलामीको नेतृत्वमा पार्टी तथा संगठनका नेता कार्यकर्ता तथा शुभेच्छुक व्यवसायीहरुबाट संकलन गरिएको कूल १५० बोरा चामल र ६ बोरा चिउरा आज वितरण गरिएको हो ।

संगठनले झापाको कमलमा बसोबास गर्दै आएका पूर्व जनमुक्ति सेना नेपालका घाईते, अपाङ तथा सहिद परिवारका लागि पूर्व जनमुक्ती सेना नेपालको संगठन मार्फत ४० बोरा चामल वितरण गरेको थियो । सो खाद्यान्न राहत कमल ३ गुरुङ टोलमा पूर्व जनमुक्ति सेना नेपालको संगठनका सचिव सागर शेर्पालाई हस्तान्तरण गर्दै वाइसिएलका प्रदेश संयोजक पुलामीले कोरोना महामारी र जारी निषेधाज्ञाका कारण समस्यामा परेका सहयोद्धाको परिवारलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्धेश्यले पार्टी र संगठनको केन्द्रिय नीति अनुसार सो राहत प्रदान गरिएको जानकारी दिए ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा चौंलागाइँ (श्रीकान्त)ले पूर्व जनमुक्ति सेनाको परिवारको अवस्थाकाबारेमा पार्टीले समेत उपल्लो तहसम्म छलफल गर्दै आएको बताए । उनले पूर्व जनमुक्ति सेना नेपालको परिवारलाई आय आर्जनमा जोडने पार्टीको नीति रहेको भन्दै आश्वसन दिएका थिए । सो टोलीले आज नै माओवादी जनयुद्धका घाईते पूर्व जनमुक्ति सेना सिक्सम लिम्बुको निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै खाद्यान्न राहत प्रदान गरेको थियो । ४७ बर्षिय लिम्बु तत्कालिन राजा ज्ञानेन्द्र साहले गराएको निर्वाचनको अघिल्लो दिन धनकुटामा सुरक्षाकर्मीसंगको भिडन्तमा घाईते भएका थिए । उनको शरिर चल्न नसक्ने अवस्थामा छन । उनी पछिल्लो समय मलद्धारको छेउमा भएको घाउबाट पिप बगिरहने समस्या रहेकाे छ ।

वाइसिएलले आज नै उर्लाबारी र मधुमल्लामा समेत पुगेर पूर्व जनसेना तथा तिनको परिवारलाई खाद्यान्न राहत वितरण गरेको जनाइएको छ । राहत वितरणमा संगठनका केन्द्रिय निर्वाचन आयोग सदस्य दिपक आले, मोरङ जिल्ला उपाध्यक्ष राजिव लिम्बु र उर्लाबारी नगर सहसचिव अनिल साह समेत सहभागी थिए । संगठनमार्फत प्रदान गरिएको सो चामल वाइसिएल उर्लाबारीका अनिल साह र सविन घिमिरे मार्फत ३३ बोरा, मोरङ जिल्ला उपाध्यक्षद्धय सुसन लिम्बु र कमल हाङगाम, मधुमल्लाका व्यवसायी सुसन खडका, शिवसताक्षी २ का प्रकाश बस्नेत, भुपेन्द्र साह, दिलिप बुढाथोकी, राजु दर्नाल र विर्तामोड नगर अध्यक्ष माधव झा मार्फत प्राप्त भएको जनाइएको छ ।

दमकका सुकुम्बासीलाई वाइसिएलको सहयोग

यसैबीच दमक- ७ मा स्थानीय सरकारद्धारा घर टहरा भत्काइएपछि समस्यामा परेका ७ परिवारलाई वाइसिएलले चामल प्रदान गरेको छ । संगठनको १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा चौंलागाइँ (श्रीकान्त) को उपस्थितीमाप्रति परिवार एक/एक बोरा चामल राहत स्वरुप प्रदान गरेको हो । वाइसिएलका प्रदेश संयोजक कर्म पूलामीले सो सहायता सामग्री पीडित परिवारलाई घर भत्काइएको स्थलमै पुगेर हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्