News Portal

कचनकवलमा सर्पदंश उपचार केन्द्र

रातोपोस्ट संवाददाता
५३९ पटक

झापा, ४ असार । झापाकाे दक्षिणी क्षेत्रका जनता सर्पले डसेर अकालमा मृत्यु हुने समस्याबाट छुटकारा पाउने भएका छन् ।

झापाको कचनकवल गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा बिहीबारदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएदेखि त्यस क्षेत्रका बासिन्दा सर्पले डसेर अकालमा मृत्यु हुने समस्याबाट छुटकारा पाउने भएका हुन ।

बिहीबार एक कार्यक्रमका बीच निवर्तमान संघीय सांसद राजेन्द्र लिङ्देनले सो सर्पदंश उपचार केन्द्रको उद्घाटन गरे थिए। कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालन हुने भएपछि यस क्षेत्रका बासिन्दा हर्षित बनेका छन् । झापाकाे दक्षिणी क्षेत्रमा सर्पदंश उपचार केन्द्र नहुँदा यस क्षेत्रमा सर्पको डसाइबाट वर्षैनी धेरै जनाले अकालमै ज्यान गुमाउँदै आउनु परेको थियो ।

सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै निवर्तमान संघीय सांसद लिङ्देनले अब सर्पको डसाईबाट अकालमा कसैले ज्यान गुमाउन नपर्ने विश्वास व्यक्त गरे । लिङ्देनले अस्तालमा औषधीको कमी हुन नदिने बताए । जनताको सेवाको लागि अस्पताल, गाउँपालिका लगायतका क्षेत्रमा काम गर्ने कर्मचारीले इच्छाशक्ति बढाउनु पर्ने उनको भनाइ थियो । उनले सर्पदंश उपचार केन्द्रबाट कचनकवलबाहेक बाह्रदशी, भद्रपुर, हल्दिवारीलगायत छिमेकी भारतका नागरिकहरू समेतलाई सेवा प्राप्त गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गत जेठ २७ गते कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको थियो । उपचार केन्द्र नहुँदा जेठको दोस्रो साता सर्पले डसेर कचनकवलका दुईजनाको मृत्यु भएको थियो । कचनकवल गाउँपालिकाले सो सर्पदंश उपचार केन्द्र संचालन गर्ने भएकोे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । उनले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयबाट एन्टी स्न्याक भेनम ल्याएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष अन्जार आलमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद बसन्त बानियाँ , पार्टी प्रतिनिधिहरु तुलाराम अधिकारी , भगिरथा अधिकारी , जग्गादाता चिन्तामणि खरेलले बोलेका थिए । रविचन्द्र ओझाले स्वागत गरेको कार्यक्रमको संचालन विकास घिमिरेले गरेका थिए । त्यस अवसरमा संचारकर्मीसहित ३० जनालाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्