News Portal

जंगली हात्तीको फोटो खिच्न जाँदा युवकको मृत्यु

रातोपोस्ट संवाददाता
३५६ पटक

मोरङ, ४ असार । जङ्गली हात्तीको फोटो खिच्न गएका मोरङमा एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी–८ हरिचन्द्रगढीका २१ वर्षीय मनोहर मियाँ रहेको प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए । सुनवर्षी नगरपालिका–८ कुरेलीमा शुक्रबार बिहान मियाँलाई हात्तीले आक्रमण गरेको थियो ।

प्रहरीका अनुसार बिहान ७ बजेतिर हात्ती कुरेलीमा देखा परेको थियो । गाउँमा आएका बेला धपाउन भेला भएका स्थानीयले होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो ।

गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान ८ः४० बजेतिर मृत्यु भएको डीएसपी राईले बताए । वडाध्यक्ष नुरुल मियाँका अनुसार भेला भएका स्थानीयले होहल्ला गरेर हात्ती धपाउन खोजेका थिए । त्यस क्रममा भाग्न खोजेको हात्तीले नजिकै पुगेर फोटो खिच्न खोज्दा मनोहरमाथि आक्रमण गरेको उनको भनाइ छ । वडाध्यक्ष मियाँका अनुसार हात्तीबाट लगभग एक सय मिटरजति नजिक पुगेर मनोहरले फोटो लिन खोजेको पाइएको छ ।

प्रतिकृया दिनुहोस्