News Portal

सर्लाहीमा वडाध्यक्षको हत्या, दुई जना पक्राउ

रातोपोस्ट संवाददाता
६९० पटक

सर्लाही, १२ असार । ईश्वरपुर नगरपालिका–३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ। जेसिबी चालकसँग विवाद हुँदा चालकले शुक्रबार राति जेसिबीको बकेटले हानेर हत्या गरेको प्रहरीले बताएको छ। भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरीलाई खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो। राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएको प्रहरीले बताएको छ।

खाजा खाएर फर्किने क्रममा राति करिब १० बजे चालक तामाङले वडाध्यक्ष श्रेष्ठसँग विवाद हुँदा बकेटले हानेको सर्लाहीको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए। बकेटले हानेर लडाएपछि माटोले पुरेको देखिएको एसपी राठौरले बताए। घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुग्दा वडाध्यक्ष श्रेष्ठ अचेत अवस्थामा फेला परेकाले जिल्ला अस्पताल मलंगवा पु¥याइएको थियो। त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर–३ का ३५ वर्षीय पे्रमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१ हजरियाका ३८ वर्षीय हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान लालबन्दीबाट पक्राउ गरिएको एसपी राठौरले जानकारी दिए। उनीहरु दुवैलाई  जिल्ला प्रहरी कार्यालय मलंवाको हिरासतमा राखिएको छ। मृतक ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ।

प्रतिकृया दिनुहोस्