News Portal

माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन

रातोपोस्ट संवाददाता
१००८ पटक

जनकपुर, २२ असार । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । वर्षदेखि क्यान्सरबाट पीडित नेता यादवको ५७ वर्षको उमेरमा सोमबार राति निधन भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ मुजेलियास्थित निजी निवासमा नेता यादवको निधन भएको परिवारका सदस्य श्याम यादवले जानकारी दिए। क्यान्सरबाट पीडित नेता यादवको भरतपुर क्यान्सर अस्पताल, भारतको दिल्ली र पटनास्थित विभिन्न अस्पतालमा लामो समयदेखि उपचार हुँदै आएको थियो।

समस्या समाधान नभएपछि पछिल्लो समय उनलाई चिकित्सकको सल्लाहमा घरमै राखेर उपचार भइरहेको थियो । जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा उनको पार्थिव शरीरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाए । पार्टीले एक सच्चा नेता गुमाएको र नेता यादवको निधनले पार्टीलाई अपूरणीय क्षति भएको प्रचण्डले बताए । माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संसदीय दलका नेता सत्रुधन महतो, नेकपाका नेता गौरी मण्डल सहितका शीर्ष नेताहरु समेत श्रदाञ्जली कार्याक्रमा सहभागी थिए ।

साविक धनुषाको शहीद नगर नगरपालिका वडा नम्बर–१ स्थित बालाबाखर घर भएका नेता यादव जनयुद्ध कालदेखि नै लोकप्रिय थिए । उनी जनयुद्ध कालमा लामो समय प्रवासमा संगठन निर्माणमा क्रियाशिल रहे । उनले महोत्तरी, धनुषा र सिरहाको कमाण्ड गर्दै विभिन्न युद्धको मोर्चामा समेत सहभागी भएका थिए । भुमिगतकालमा तत्कालीन नेकपा माओवादी धनुषा र महोत्तरी जिल्लाको नेतृत्व समेत गरेका थिए । जेटिएको सरकारी जागिर छोडेर नेता यादव कम्युनिस्ट पार्टीमा सक्रिय भएका थिए । धनुषा बालाबाखर गाविसको उपाध्यक्षमा समेत निर्वाचित भएका थिए । २०६९ सालमा माओवादी विभाजन हुँदा उनी मोहन वैद्य किरण पक्षमा लागेका थिए । पछि रामबहादुर थापा बादलसँग उनी प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा पुन समाहित भएका थिए ।

प्रतिकृया दिनुहोस्