News Portal

बेपत्ता योद्धा साेम बहादुर विक “ज्योति” काे १९ औं खाेज सभा सम्पन्न

रातोपोस्ट संवाददाता
८३४ पटक

असार २३ पोखरा । राज्यको सशस्त्र फोर्सले बिरामी अवस्थामा रहेका आफन्तको उपचारमा जाँदा गिरफ्तार पछि बेपत्ता बनाईएका ज्योतिको १९ औं खोज सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका- ३२ खुदीखोला स्थित उनकै निवास नजिक नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा एक कार्यक्रम आयोजना गर्दै बेपत्ता योद्दा परिवारसहित खोज सभा सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य पुर्णजित पुनको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रम नेकपा कास्की जिल्ला सदस्य काजि गुरुङ्गले सञ्चालन गरेका थिए। यस्तै, कार्यक्रममा नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली, सहीद बिजयराज बास्तोलाका पुत्र प्रकाश बास्तोला, माओवादी केन्द्रका वडा अध्यक्ष अर्जुन मल्ललगायत नेकपाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेपत्ता योद्दा सोम बहादुरकी बहिनी सोम माया बिकले दाजुकाे जिवनी प्रस्तुत गरेकि थिइन् भने उपस्थित अतिथि, प्रमुख अतिथिलगायत सम्पुर्ण वक्ताहरुले महान जनयुद्धका सहिद बेपत्ता योद्दाहरुले देखेको सपना पुरा नभएको, झनै नेपालको राजनैतिक परिस्थिति जटिल बन्दै गएको र प्रतिक्रान्तिको चपेटामा फस्ने देखिएको हुँदा सहिद बेपत्ताको सपना पुरा गर्न सम्पुर्ण जनसमुदाय र कम्युनिस्टहरु जनयुद्धको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै ध्रुवीकरण हुँदै जानुपर्नेमा जोड दिएका थिए ।

राज्यले तत्कालिन समयमा क. सोम बहादुर बिकलाई २०५९ असार २३ गते बेपत्ता बनाएको थियो । साेम राजनितिक रुपमा २०५६ देखि नेकपा (माओवादी ) मा संगठित भएर सकृयताका साथ सुकुम्बासीलगायतका जनबर्गको संगठनात्मक तथा संघर्षका काममा सहभागी हुँदै आएका थिए । पार्टीको ईलाकास्तरको जिम्मेवारीमा रहेर काम गर्दै गर्दा पोखराको गण्डकी अस्पतालबाट राज्यले गिरफ्तार गरि बेपत्ता बनाएको थियोे । सोमबहादुर बिश्वकर्मा `ज्योति´ बुबा मनबहादुर बिश्वकर्मा र आमा ओमकुमारी बिश्वकर्माको कोखबाट २०३२ बैशाख २८ गते साबिक लेखनाथ न. पा- १३ हाल पोखरा महानगरपालिका- ३२ खुदिखोला कास्कीमा जन्म भएकाे थियाे ।

प्रतिकृया दिनुहोस्