News Portal

कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

रातोपोस्ट संवाददाता
६०२ पटक

काठमाडौँ, २६ असार । कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । आज बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि कोलम्बियाले जित हासिल गरेको हो ।

सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थानका लागि प्रितस्पर्धा गरेका हुन । सेमिफायनलमा पेरु ब्राजिलसँग र कोलम्बिया अर्जेन्टिनासँग पराजित भएको थियो । खेलमा यसीमार योतुनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको शुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो ।

जुवान क्वाड्राडोले ४९औं मिनेटमा बराबरी गोल गरे । लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरे । ९० मिनेटसम्म बराबरी भएपनि इन्जुरी टाइमको चौथो मिनेटमा डियाजले निर्णायक गोल गरेपछि कोलम्बिया विजयी भएको हो । कोपा अमेरिका फुटबलको फाइनल खेल भने आइतबार बिहान हुनेछ । उपािधका लागि ब्राजिल र अर्जेन्टिना मैदानमा उत्रिनेछन् ।

प्रतिकृया दिनुहोस्