News Portal

दुवै मृगौला फेल भएपछि तिम्सिना बचाउ अभियान सुरु

रातोपोस्ट संवाददाता
५९२ पटक

मेचीनगर, ८ साउन । दुबै मिर्गाैला खराब भई प्रत्यारोपणको पर्खाइमा रहेका मेचीनगर वडा- ९ का एक पुरुषको उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ । मेचीनगर वडा- ९ फारम टोलका ४८ वर्षीय टंकनाथ तिम्सिनाको दुवै मिर्गौलाले काम गर्न छोडेको छ । वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा रहेका तिम्सिनाको विदेशमै रहेका बेला मिर्गौला खराब भएको चिकित्सकले बताएका थिए ।

मिर्गौला खराब भएपछि उपचारका लागि तिम्सिना केही समयअघि स्वदेश फर्कीए । कमजोर आर्थिक अवस्थाका तिम्सिनाको परिवारले प्रारम्भिक अवस्थाको उपचार क्रममा आफुसँग भएको रकम खर्च गरि सकेको टंक तिम्सिना बचाउ अभियान समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा समितिले देश–विदेशमा रहेका सहयोगी सबैमा सहयोग गरिदिन आग्रह गरेको छ ।

१५ वर्ष खाडी मुलुकमा श्रम बेचेका तिम्सिनाले आफ्नो उपचारका लागि आवश्यक पर्ने रकमसमेत आर्जन गर्न सकेनन् । तिम्सिनालाई बचाउन असार ३१ गते वडा नं ९ का अध्यक्ष गोपाल खड्काको अध्यक्षतामा बसेको बैठकले अभियान समिति बनाएर आर्थिक संकलन गर्ने निर्णय गरेको थियो । आर्थिक सहयोग जुटाउनका लागि मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेत संयोजक, कविन्द्र श्रेष्ठ सचिव र संगिता थापा कोषाध्यक्ष रहेको १५ सदस्यीय टंक तिम्सिना बचाउ अभियान समिति गठन गरिएको छ ।

साथै उनको उपचारमा सहयोग पु¥याउनका लागि गोपालचन्द्र बुढाथोकी, राम कार्की, विश्वप्रकाश शर्मा, प्रेम सम्बाहाम्फे, मणीकुमार उप्रेती तथा गोपाल खड्कासहितको सल्लाहकार समितिसमेत गठन गरिएको छ । समितिले हालसम्म १ लाख ७१ हजार ५ सय रुपैयाँ संकलन गरेको छ । परिवारका अनुसार तिम्सिनाको उपचारका लागि करिब २५ लाख रुपैयाँ आवश्यक छ । उपचारमा सहयोग गरी तिम्सिनाको जीवन बचाउन तिम्सिना बचाउ अभियान समितिले सबैसँग आग्रह गरेको छ ।

आर्थिक सहयोगका लागि अभियानका संयोजक गोपाल बस्नेतको एनएमबी बैंकको खाता नम्बर १७५०१६१२१७५०००१५ वा सचिव कविन्द्र श्रेष्ठको इसेवा आइडी ९८४२६२९४८५ मा रकम जम्मा गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । तिम्सिनाको प्रत्यारोपणका लागि उनकै श्रीमती टिका पाण्डे तिम्सिनाले मिर्गौला दिने प्रक्रिया सुरु भइ सकेको समितिले बताएको छ । यथाशीघ्र मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएको हुँदा सहयोग संकलन कार्यलाई सुरु गरिएको समिति संयोजक बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्