News Portal

अन्योलमा कांग्रेस महाधिवेशन, तल्ला तहका अधिवेशन स्थगित

रातोपोस्ट
४०५ पटक

काठमाडौं, १० साउन । सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि पूर्वनिर्धारित कार्यतालिकाअनुसार घोषित तल्ला तहका सबै अधिवेशन स्थगित भएको छ । तल्ला तहका अधिवेशन स्थगित भएपछि कांग्रेसको १४औं महाधिवेशन पनि अन्योलमा परेको छ । क्रियाशील सदस्यताको विवाद बढ्दै जाँदा कांग्रेसले १२ साउनबाट सुरु गर्ने भनेको वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनमुनिका सबै तहका अधिवेशन अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरेको हो ।

शनिबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यसअघि निर्धारित तल्ला तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए । महतका अनुसार क्रियाशील सदस्यता विवादबारे टुंगो लगाएपछि केही दिनभित्रमा नै सबै तहका अधिवेशनका लागि अर्को मिति तोकिनेछ ।

‘क्रियाशील सदस्यताका विषयमा विवाद देखिएपछि वडा तहदेखिका अधिवेशन स्थगित गरिएको छ, केन्द्रीय महाधिवेशनको मिति अहिले चलाइएको छैन, सदस्यताका विषयमा टुंगो लगाएर केही दिनभित्रै सबै तहका अधिवेशनका मिति घोषणा हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्