News Portal

२६ वर्षीय यादवलाई आजीवन जेल सजायको फैसला

रातोपोस्ट संवाददाता
६३४ पटक

सिरहा, ३० साउन । सिरहाको औरहीगाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ । जिल्ला अदालतले श्रीमतीलाई आगो लगाइ हत्या गरेका आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार सो सजाय फैसला गरेको हो ।

विनोदले आफ्नी २१ वर्षीया श्रीमती अनितालाई आगो लगाई हत्या गरेको ठहर अदालतले गरेको थियो । जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको अदालतले जनाएको छ । गत २०७६ माघ १० गते चारित्रिक आरोपमा विनोदले श्रीमतीलाई आगो लगाई हत्या प्रयास गरेका थिए । आगो लगाएपछि उनीले आफैँले श्रीमतीलाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो ।

काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा दुई दिनपछि गत माघ १२ गते बिहान अनिताको मृत्यु भएको थियो । मृतकका बुबा अशोक यादवले जिल्ला प्रहरी कार्यालयमा गत माघ १२ गते विनोदविरुद्ध किटानी जाहेरी दिएका थिए । माघ ११ गते पक्राउ परेका विनोद जिल्ला अदालतको आदेशमा गत फागुन ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिकृया दिनुहोस्