News Portal

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिइने

रातोपोस्ट संवाददाता
५७२ पटक

काठमाडौं, १६ भदाै । नेपाली राष्ट्रिय फुटबल टिम र भारतीय टिमले मैत्रीपूर्ण खेलमा सकारात्मक नतिजा आउने विश्वास गरेका छन् । काठमाडौंमा बुधबार आयोजना भएको प्रि–म्याच कन्फ्रेन्समा दुई टिमका प्रशिक्षक तथा कप्तानहरुले निकै मिहेनतका साथ खेल खेल्ने बताएका हुन् ।

पि–म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताए । भारतविरुद्धको दुई खेलका लागि टिम तयार रहेको र मज्जा लिएर खेल्ने उनले बताए । आसन्न साफ च्याम्पियनसीपका लागि यो दुई खेल महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले जब टिमले राम्रो तयारी गरेको हुन्छ, त्यहि अनुसारको नतिजा आउनेमा विश्वस्त रहेको बताए । त्यस्तै यस्तै कप्तान किरण चेम्जोङले भारतविरुद्धको खेल नेपालका लागि एक महिनापछि हुने साफको तयारीमा राम्रो सहयोग पुग्ने बताए । नेपाली टिमका लागि भारतविरुद्ध खेल्न पाउनु निकै राम्रो रहेको र यसले खेलाडीमा आत्मविश्वासपनि थप्ने उनको भनाइ छ ।

प्रि–म्याच कन्फ्रेन्समा भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपालसँग उसकै मैदानमा खेल्नु आफ्नो टिमका लागि चुनौती भएको बताए । नेपाली टिममा पनि राम्रो खेलाडी रहेको र त्यसबाट भारतपनि सजक भएको उनको भनाइ छ । नेपालले बाहिर गएर खेल्नु र आफ्नो घरेलु मैदानमा खेल्नुमा धेरै फरक हुने क्षेत्रीले बताए । त्यस्तै भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमिकले आफ्नो खेलाडीले प्रशिक्षणमा निकै मिहेनत गरेको र आफूले खेलाडीहरुबाट राम्रो नतिजाको अपेक्षा राखेको बताए । यसैबीच नेपाल र भारतबीचको दुई वटा मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ ।

प्रि–म्याच कन्फ्रेन्समा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने जानकारी दिए । रंगशालामा कुल पाँच हजार एक सय जानलाई सामाजिक दूरी कायम गरेर राख्ने उनले बताए । नेपाल र भारतले ६ बर्षपछि एक आपसमा खेल्न लागेका हुन् । दुबै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन । नेपालले भारतसँग बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल ५ः३० बजे सुरु हुनेछ ।

यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसीपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसीप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

प्रतिकृया दिनुहोस्