News Portal

मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ गोलले पराजित

रातोपोस्ट संवाददाता
४३२ पटक

काठमाडौं, २० भदाै । भारतीय फुटबल टोलीसँग आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले नेपाललाई २-१ गोलले पराजित गरेको हो। पहिलो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। नेपालले तीन वटा राम्रा अवसरहरुको सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल गर्न सकेन।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको शुरु मै विशाल राईले राम्रो अवसर पाएर पनि पोस्टमा प्रहार गर्न सकेनन्। पहिलो हाफमा भन्दा दोस्रो हाफमा नेपाल धेरै आक्रामक देखिएको थियो। यद्दपि, दोस्रो हाफमा भारतले गोल गर्न सफल भयो र खेलमा अग्रता लियो। खेलको ६२ औँ मिनेटमा फारुख चौधरीले भारतका लागि गोल गरे। ७५ औँ मिनेटमा भारतीय मुख्य प्रशिक्षक इगोर स्टिमाकले पहेँलो कार्ड पाएका थिए।

८० औँ मिनेटमा अनिरुद्र थापाले चलाखीपुर्ण बल निकाले र भारतीय टोलीका कप्तान सुनिल छेत्रीले किपर किरण चेम्जोङसँग वान भर्सेस वानको अवस्थामा गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ८६ औँ मिनेटमा तेज तामाङले नेपालका लागि गोल गरे पनि त्यो जितका लागि पर्याप्त रहेन। आजको खेलमा गोलकिपर विशाल श्रेष्ठको डेब्यू गरेका छन्। यसअघि, बिहीवार भएको पहिलो खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए।

प्रतिकृया दिनुहोस्