News Portal

मेचीनगर युवा कपकाे पहिलो दिन ४ खेल सम्पन्न

रातोपोस्ट संवाददाता
४०४ पटक

झाप , १ असोज  । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा सञ्चालित दोस्रो ‘मेचीनगर युवा कप २०७८’ फुटबल प्रतियोगिताको पहिलो दिन ४  खेल सम्पन्न भएका छन् ।

मेचीनगर– ६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई हराउँदै वडा नम्बर- ७ विजयी भएको छ । वडा नम्बर ७ का लागि विधान राउत र विवेक राजवंशीले गोल गरे ।

दोस्रो खेलमा स्नोकर ११ एफसी खेलमा अनुपस्थित रहँदा नवदुर्गा फुटबल क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ ।

आजै भएको तेस्रो खेलमा वडा नम्बर ११ विजयी भएको छ । वडा नम्बर ११ ले वडा नम्बर १४ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ११ का लागि विशाल दर्जी, अजय राजवंशी र जमिन लक्समले गोल गर्दा १४ का सन्तोष बेस्रोले सान्त्वना गोल फर्काए । चौथो तथा अन्तिम खेलमा तुर्केनी फुटबल क्लबले डाउनटाउन फुटबल क्लब रमाइलो गाउँसँग हार बेहोरेको छ । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसक्दा विजेताको टुंगो टाई ब्रेकरमार्फत गरिएको थियो ।

जसमा तुर्केनीका एक खेलाडीको प्रहार डाउनटाउनका गोल रक्षकले विफल पार्दा डाउनटाउनका पाँचजनै खेलाडीको प्रहारले जाली चुमेको थियो ।

नगरका २० टिम सहभागी प्रतियोगिता फाइनल खेल असोज ८ गते हुने छ । प्रतियोगिताको विजेताले नगद ३० हजार तथा उपविजेताले नगद २० हजारसहित, ट्रफी मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको दोस्रो दिन शनिबार (भोलि)समेत चार खेल हुने आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस्