News Portal

देशमा सरकारकै संरक्षणमा गुण्डागर्दी हुन थाल्यो : ओली

रातोपोस्ट संवाददाता
३४९ पटक

काठमाडौं, ५ असाेज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोेप लगाएका छन् । ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियुका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अनेरास्ववियूको नयाँ नेतृत्वको शपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको र त्यसविरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको बताए । ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनुपरेको बताए ।

“सरकार निर्देशित, सरकार सञ्चालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईंहरूले भण्डाफोर गर्नुपर्छ । र मैले अस्ति बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छन् । एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यवहारहोस् । र, त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस् भन्ने जनता चाहन्छ । शान्तिपूर्ण ढंगले जीवनयापन गर्न चाहन्छ । तर जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ ? प्रतिवाद गर्नु परेन ? जनता भोली प्रतिवादमा निस्कन्छ,” ओलीले भने । अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढ्न पनि अनेरास्ववियुका नेता, कार्यकर्तालाई सचेत गराए ।

प्रतिकृया दिनुहोस्