News Portal

३८ क्विन्टल सुन तस्करी प्रकरणको अन्तिम बहस आजबाट हुँदै

रातोपोस्ट संवाददाता
३७९ पटक

विराटनगर, १० असाेज । सुन तस्करीबारे धेरै तथ्यहरू बाहिर ल्याएको ‘साढे ३३ किलो सुन’ प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरू भएको छ। साढे ३३ किलोग्राम सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको यो घटनाबारे बहस सुरू भएको हो ।

जिल्ला अदालत मोरङले आइतबार अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको बहस सुरू भएको जनाएको छ । मोरङ उर्लाबारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन हराएको विषयमा अनुसन्धान गर्ने क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी मुद्दाको सुनुवाई न्यायाधीश भरत लम्सालको इजलासमा अहिले भइरहेको छ।

उक्त मुद्दामा बेनु श्रेष्ठसमेत ६३ जना, रेवत भन्ने रेवन्तकुमार आचार्य, सम्बिर प्रेतोलोङसमेत २ जना तथा सञ्जय खेतान भन्ने प्रभात अग्रवाललाई विपक्षी बनाइएको छ। उक्त मुद्दामा सनम शाक्यका दाजु सञ्जिव शाक्यको जाहेरीमा सरकारी वकिल कार्यालय पक्ष रहेको छ ।

सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ। सुन तस्करी मुद्दाका प्रतिवादीमध्ये २२ जना अझै फरार छन्। प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका छन्।

प्रतिकृया दिनुहोस्