News Portal

रोकिएन रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखन

रासस
१५५० पटक

रुपन्देही, १४ असाेज । रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ का दुई महिना साउन र भदौमा मात्र ५६ महिला तथा बालबालिकालाई सीमाक्षेत्र बेलहियाबाट मानव तस्करले भारततर्फ लैजाँदै गर्दा उद्धार गरिएको छ ।

गत तीन आवको तथ्याङ्क हेर्दा मानव बेचबिखन नरोकिएको देखिएको छ । आव २०७५/०७६ मा २५३ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र बेलहियाबाट उद्धार गरिएको हो । पचास जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याएको माइती नेपाल रुपन्देही शाखाले जानकारी दिएको छ । आव २०७६/०७७ मा २४२ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र बेलहियाबाट उद्धार गरिएको छ । चौध जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याइएको हो । आव २०७७/०७८ मा १५१ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

आठ जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याएको माइती नेपाल शाखा प्रमुख माया क्षेत्रीले जानकारी दिइन् । नेपालबाट यसरी तस्करी गरी महिलालाई भारतीय कोठी र खाडी मुलुकमा पठाउने काम मानव तस्करले गर्ने गरेका छन् भने बालबालिकालाई विभिन्न सर्कसमा प्रयोग गर्ने गरेको पाइन्छ । विशेष गरी महिला तथा किशोरीलाई मानव तस्करले विभिन्न प्रलोभन पारेर नेपालका विभिन्न नाकाबाट भारततर्फ लैजाने गरेको प्रहरीले जनाएको छ ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने माइती नेपालले देशका विभिन्न सीमानाकामा आफ्नो कार्यालय राखी मानव बेचबिखनलाई न्यूनीकरण गर्ने काम गरे पनि यो बेचिनेक्रम भने नरोकिएको देखिएको छ । देशका विभिन्न जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लाबाट मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई प्रलोभनमा पारेर भारतीय क्षेत्रमा पु¥याएको पाइन्छ ।

प्रतिकृया दिनुहोस्