News Portal

टी २० विश्वकप : बंगलादेशमाथि वेस्टइन्डिजको रोमाञ्चक जित

रातोपोस्ट संवाददाता
४८१ पटक

काठमाडौं, १२ कार्तिक । आईसीसी टी २० विश्वकप २०२१ मा साविक विजेता वेस्टइन्डिजले बंगलादेशमाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ। जितको लागि १ सय ४३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन बनाउन सक्यो। बंगलादेशका लिटन दासले सर्वाधिक ४४ रन बनाए। उनले ४३ बलमा ४ चौका प्रहार गरे।

यस्तै, कप्तान महमूदुल्लाह रियाद ३१ रनमा अविजित रहे। बंगलादेशलाई अन्तिम १२ बलमा २२ रन चाहिएको थियो। तर, वेस्टइन्डिजका अनुभवी बलर ड्वेन ब्राभोले १९औं ओभरमा ९ रन खर्चेर १ विकेट लिएपछि खेल रोचक मोडका धकेलिएको थियो। पहिलो बलमै महमूदुल्लाहले छक्का प्रहार गरेपनि त्यसपछि ब्राभोले उत्कृष्ट पूनरागमन गरेका थिए। अन्तिम ६ बलमा बंगलादेशलाई १३ रन चाहिएको थियो। आन्द्रे रसेलले ९ रन दिँदै वेस्टइन्डिजको जित पक्का गराए।

बंगलादेशका ओपनर मोहम्मद नईम १७ र सौम्य सरकार १७ रनमा आउट भए। यता, सकिब अल हसन ९ र मुश्फिकुर रहिम ८ रनमा आउट भए।वेस्टइन्डिजका रवि रामपाउल, ड्वेन ब्राभो, अकिल हुसैन, आन्द्रे रसेल र जेसन होल्डरले १–१ विकेट लिए। त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो।

वेस्टइन्डिजका युवा विकेटकिपर निकोलस पुरनले सर्वाधिक ४० रनको योगदान दिए। उनले २२ बलमा १ चौका र ४ छक्का प्रहार गरे। वेस्टइन्डिजका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। काइरन पोलार्ड १४ रनमा अविजित रहे। रोस्टन चेशले ३९ रन जोडे। उनको टी२० आईमा यो डेब्यू हो। तीव्र गतिका बलर मुश्ताफिजुर रहमान इविन लेविसलाई ६ रनमा आउट भए। अनुभवी ब्याटर क्रिस गेललाई ४ रनमा बोल्ड आउट भए। शिम्रन हेटमायरलाई ९ र आन्द्रे रसेल कुनै बल नखेली रन आउट भए। तस्किन अहमदको बलमा रोश्टन चेशले प्रहार गरेको सट नन स्ट्राइकको स्टम्पमा लागेपछि रसेल रन आउट भएका थिए। माहेदी हसन, शोरिफुल ईस्लाम र मुश्ताफिजुर रहमानले समान २ विकेट लिए।

यो लगातार तेस्रो हारसँगै बंगलादेशको सुपर १२ मा समूह ‘ए’ बाट शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना लगभग समाप्त भएको छ। वेस्टइन्डिजले महत्वपूर्ण २ अंक जोड्दै सेमिफाइनलको सम्भावना कायमै राखेको छ। वेस्टइन्डिज पहिलो खेलमा इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ८ विकेटले हारेको थियो। यता,बंगलादेश पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा इंग्ल्यान्डसँग ८ विकेटले पराजित हुन पुगेको थियो।

प्रतिकृया दिनुहोस्