News Portal

महाधिवेशनपछि कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ : देउवा

रातोपोस्ट संवाददाता
५४१ पटक

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न १४ औं महाधिवेशनपछि कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने बताएका छन्। पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको पुस्तक विमोचन गर्दै देउवाले महाधिवेशनको उत्साह र उर्जालाई चुनावसम्म लगेर कांग्रेसलाई ठूलो दल बनाउने बताएका हुन्।

त्यसका लागि नेता कार्यकर्ताहरुमा सोही अनुसारको उत्साह र उर्जालाई कायम राख्न पनि आग्रह गरे । देउवाले भने ‘यो महाधिवेशनमा कांग्रेसका कार्यकर्तामा देखिएको ऊर्जालाई आगामी निर्वाचनसम्म लानुपर्छ र कांग्रेसलाई बहुमतप्राप्त पार्टी बनाउने कार्यमा तपाईँहरू सबै लाग्नुपर्छ।’ पुस्तक विमोचन समारोहमा उपस्थित नेपाली कांग्रेसका सयौँ महाधिवेशन प्रतिनिधिसँग उनले सकेसम्म सहमतिका आधारमा महाधिवेशनबाट नेतृत्व चयन गर्ने बताए।

उनले भने, ‘सकेसम्म हामी सहमतिबाटै नेतृत्व चयन गर्नेछौँ नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने हो । तर पनि प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविकरूपमा लिएर कुनै पनि प्रकारको कटुता राख्नु हुँदैन । जित्नेले पनि हार्नेलाई समेट्नुपर्छ, हार्नेले पनि सहयोग गर्नुपर्छ, यसलाई प्रजातान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्छ, कुनै पनि प्रकारको कटुता, मनोमालिन्य राख्नु हुँदैन, असहिष्णु बन्नु हुँदैन ।’

प्रधानमन्त्री देउवाले १४औँ महाधिवेशन नेपाली कांग्रेसका मात्र नभएर नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि एक महत्वपूर्ण अवसर भएको बताए। उनले भने, ‘महाधिवेशन सफल पारेर फर्किएर नेपाली कांग्रेसलाई बलियो बनाउने र अबका सबै निर्वाचनहरूमा बहुमत हासिल गर्ने बनाउन साथीहरू लाग्नुहुनेछ।’ कार्यक्रममा प्रधानमन्त्री देउवाले सहमहामन्त्री डा महतले बिपी कोइरालाको सरकारको अर्थव्यवस्थाका विषयमा पुस्तक लेखेर प्रसंशनीय काम गरेको बताए। उनले डा महतलाई मेहेनती र आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने व्यक्ति भनेर टिप्पणी पनि गरे।

सहमहामन्त्री डा. महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक बिपी कोइराला प्रधानमन्त्री रहेको नेपालको पहिलो जननिर्वाचित सरकरको अर्थव्यवस्थाका बारेमा रहेको छ । सोही विषयमा डा महतले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयको स्नातकोत्तरको शोध तयार गरेका र यसै विषयको केही संशोधित सागम्रीसहित पुस्तकका रूपमा प्रकाशन गरेको डा. महतले जानकारी दिए।

प्रतिकृया दिनुहोस्