News Portal

काँग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

रातोपोस्ट संवाददाता
८५१ पटक

काठमाडौं, १ पुस । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । उपसभापति पदका लागि सोमबार भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् । खड्का सभापति शेरबहादुर देउवा र गुरुङ शेखर कोइराला प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । खड्काले २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरी उपसभापतिमा विजयी भएका छन् । देउवा पक्षका विजय गच्छदार भने गुरुङसँग २ मतान्तरले पराजित भएका छन् । उनले १९०६ मत प्राप्त गरेका छन् । त्यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

यसपटक उपसभापतिको दौडमा देउवाको प्यानलबाट खड्कासहित गच्छदार, शेखर कोइराला समूहबाट गुरुङसहित चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाहले चुनावी प्रतिस्पर्धा गरेका थिए । महेश आचार्य भने स्वतन्त्रतर्फबाट उठेका थिए । बुधबार राती भएको मतगणनामा गुरुङले सुरुदेखि नै अग्रता लिएका थिए भने गच्छदार र गुरुङको कडा टक्कर चलेको थियो ।

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना भने बिहीबार बिहानदेखि सुरु हुने जनाइएको छ । सभापति पदको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

प्रतिकृया दिनुहोस्