News Portal

अमेरिकामा हजारौँ कैदीलाई कारगारबाट रिहा गरिँदै

रातोपोस्ट संवाददाता
४४४ पटक

वासिङटन, १ माघ । अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षअघि हस्ताक्षर गरेको ‘अपराधी न्याय सुधार कार्यक्रम’लाई कार्यान्यवन गरिने भएको छ । जसअनुसार यसै साता हजारौँ संख्यामा कैदीहरूलाई संघीय कारगारबाट अन्यत्र सारेर विशेष कार्यक्रममा सरिक गराइने अमेरिकी न्याय विभागले जनाएको छ ।

विभागले बिहीबार संघीय अभिलेखमा प्रकाशित सूचनाअनुसार यस अवधिमा कैदीहरूलाई आफ्नो अपराध बापत पाएको कैद सजाय घटाउनसक्ने कार्यहरूमा अग्रसर गरिने बताइएको छ । जसले गर्दा उनीहरू तोकिएको समयभन्दा पहिल्यै रिहा हुन पाउनेछन् । यस कानुनका लागि अमेरिकाका दुवै राजनीतिक पार्टीले सहमति जनाएका थिए ।

यस कानुनले न्यायधीशहरूलाई न्यूनतम सजाय तोक्ने वैधानिक सहजता प्रदान गर्ने तथा अपराधीहरूलाई सजाय तोक्दा थप होसियार बनाउने बताइएको छ । कतिजना कैदीलाई यस कार्यक्रमका लागि छाडिने भनेर निश्चित संख्या तोकिएको छैन । तर न्याय विभागले यो कानुन हजारौँ कैदीमा कार्यान्वयन हुनसक्ने जनाएको छ । सन् २०१८ को डिसेम्बरमा हस्ताक्षर भएको यस कानुनअनुसार कारगारमा विभिन्न सकारात्मक सामाजिक कार्यक्रममा ३० दिन सम्म सहभागी भएबापत कैदीहरूले १० देखि १५ दिनको कैद मिनाहा सहुलियत पाउने छन् ।

यस्ता कार्यक्रम अन्तर्गत उनीहरूले रिस व्यवस्थापन र लागुऔषध कुलतको उपचारदेखि शैक्षिक काम र सामाजिक सिपका कक्षाहरूमा संलग्न हुन सक्नेछन् ।न्याय विभागको महानिरीक्षकले कारगारहरूको ब्युरोले अझै सम्म यस्ता कार्यक्रममा सहभागी भइसकेका करिब ६० हजार संघीय कैदीको कैद समय मिनाहा कार्यान्वयन नगरेको विषयमा चिन्ता व्यक्त गरेको दुई महिनापछि यो ठोस कदम चाल्न अन्तिम सूचना जारी गरिएको हो ।

प्रतिकृया दिनुहोस्