News Portal

झापामा कोरोना सङ्क्रमणबाट एक वृद्धाको मृत्यु

रातोपोस्ट संवाददाता
४४५ पटक

झापा, ३ माघ । कोरोना संक्रमणको तेस्रो लहर सुरुवात भएयता झापामा दोस्रो सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई ७ की लिम्बू समुदायकी ७५ वर्षिया वृद्धा रहेकी छन् । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आइतबार राति ८ बजे मृत्यु भएको हो ।

यसअघि गत पुस २८ गते झापामा एक पुरुष सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६५८ पुगेको छ । तीव्र रूपमा कोरोना संक्रमण फैलिँदै गएको झापामा सोमबार एकै दिन १३६ जना संक्रमित भएका छन् । मेची र कोटी होम ल्याबमा १५७ जनालाई परीक्षण गर्दा १०६ जनालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै बाहिरको ल्याबबाट ४ र एन्टिजेन विधिबाट २६ जनालाई संक्रमण पुष्टि भएको छ ।

झापामा अहिले १८७ महिला र २३१ पुरुष गरी ४१८ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ७ जना अस्पतालमा भर्नारत छन् भने अन्य होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्