News Portal

देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता, गठबन्धनको बैठक भोलि बस्ने

रातोपोस्ट संवाददाता
५९५ पटक

काठमाडाैं, ६ माघ । सत्ता गठबन्धनका तीन नेताबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आजै दिउँसो पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भनिए पनि स्थगित भएको थियो । समन्वय समितिको बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको हो । शीर्ष तीन नेताबीचको भेटपछि भोलि दिउँसो ४ बजे गठबन्धनको बैठक बोलाउने निधो भएको मल्लले जानकारी गराएका छन् । कोरोना संक्रमण भएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल बाहिर निस्किएका थिएनन् । उनी आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उनी आजबाट भेटघाटमा सक्रिय भएको पनि मल्लले जानकारी गराएका छन् ।

स्थानीय निर्वाचन सारेर संसदीय चुनाव गर्नपर्ने प्रचण्डको प्रस्तावपछि सत्ता गठबन्धनभित्र तरंग छाएको छ । प्रचण्डको प्रस्तावमा कांग्रेसका वरिष्ठ नेता तथा सरकार समन्वय समितिका संयोजक रामचन्द्र पौडेल पनि सहमत देखिएका छन् । गठबन्धनका अन्य दलहरुको धारणा भोलि बस्ने बैठपछि आउने बताइएको छ ।

प्रतिकृया दिनुहोस्