रातोपोस्ट संवाददाता
झापा, २९ माघ । मेचीनगर १४ दुवागढीस्थित मगमग चाउचाउ उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । झापा , मोरङ, इलाम र सुनसरीका १५ वटा दमकल, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयलगायतको प्रयासमा भर्खरै आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । धेरैजनाको प्रयासबाट पूर्णरुपमा क्षति हुनबाट जोगाइएको उनले जानकारी दिए ।
‘आगो फैलनबाट जोगाइएको छ’ उनले भने ,‘ भित्रपट्टीको आगो भने निभाउने क्रम जारी छ ।’ उनले एउटा पक्की घर, तीनवटा तेल ट्यांकी, पछाडिपट्टी रहेको सामानलगायतका धनमाल जोगाउन सफल भएको जानकारी दिए । ‘तेलको ट्यांकीमा सल्केको भए धेरै क्षति हुन सक्थ्यो’ उनले भने । आगलागीबाट महँगो मेशिनसहित करोडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।