News Portal

झापामा मोटरसाइकल चोरी गर्ने गिरोहका नाइकेसहित ६ जना पक्राउ

रातोपोस्ट संवाददाता
५३६ पटक

झापा, २६ फागुन । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडबाट मोटरसाइकल चोरी गर्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।मोटरसाइकल चोरीमा संलग्न सबै भद्रपुरका रहेका छन्.।

पक्राउ पर्नेहरूमा मुख्य नाइके भद्रपुर नगरपालिका– ७ निवासी २१ वर्षीय प्रकाश सहनी, सोही ठाउँका २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दीपेश राजवंशी, भद्रपुर १ निवासी ३० वर्षीय बिर्ख लिम्बु र भारत किशनगञ्ज जिल्ला बिरखोर घर भई हाल भद्रपुर– ६ मा समिम ग्यारेज सञ्चालन गर्ने १९ वर्षीय मोहम्मद समिम रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट चोरीका सात वटा मोटरसाइकल समेत बरामद गरेको छ । पाँच वटा पल्सर, एउटा अपाची र एउटा सुपर स्प्लेन्डर मोटरसाइकल रहेको छ । बरामद गरिएका सात वटा मोटरसाइकलमध्येका ६ जना सवारी धनी सम्पर्क आइसकेको डिएसपी पाठकले बताए । यता मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई झापा जिल्ला अदालत भद्रपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइसकेको उनले बताए ।

प्रतिकृया दिनुहोस्