News Portal

बाहुनडाँगीका बासिन्दाले मुख्य सडकसहित भित्री सडक पनि गरे बन्द

रातोपोस्ट संवाददाता
४१० पटक

झापा, ५ चैत्र । मेचीनगर १ नम्बर वडा क्षेत्रमा रहेका सडकको स्तरोन्नति नगरिएको भन्दै स्थानीय बासिन्दाले मुख्य सडकसहित भित्री सडक पनि बन्द गरिदिएका छन् । विशेषगरी समी चोकदेखि निन्दा सिरानसम्मको सडक निर्माणमा कुनै पहल नभएको भन्दै स्थानीय बासिन्दाले बाँस तेस्र्याएर बाटो बन्द गरेका हुन् ।

समी चोकदेखि नै बन्द गरिएपछि त्यसभन्दा तल्लो भेगका बासिन्दाले पनि समर्थन जनाउँदै गाडा गल्लीमा पनि बाटो बन्द गरेको स्थानीय अर्पण राईले जानकारी दिए । बितेको पाँच वर्षमा पनि समी चोकदेखि निन्दा सिरानसम्म वडा कार्यालय र नगरपालिकाले बालुवासमेत हाल्न नसकेको भन्दै स्थानीय आक्रोसित बनेका छन् । कम्तिमा ढुंगा छापिएको बाटोमा पुरुवासम्म हालिदिन माग गर्दा पनि वडाध्यक्ष पासाङ तामाङ बजेट नभएको भन्दै तर्किने गरेको स्थानीयको आरोप छ ।

समी चोकदेखि निन्दा सिरानसम्मको सडक स्तरोन्नतिमा कुनै पहल नभएको गुनासो गर्दा वडाध्यक्ष तामाङ नगरपालिकामा डेलिगेशन जान सुझाउने गरेको स्थानीय युवा अर्पण राईले बताए । खाल्डाखुल्डी र धुलोले आजित बनेका स्थानीय बासिन्दा सडकमै उत्रिएपछि अहिले वडा कार्यालय जाने बाटो पनि बन्द गरिएको छ । यस्तै, भित्री बाटो पनि बन्द गरिएको राईले जानकारी दिए । बाहुनडाँगी क्षेत्रको मुख्य सडकको रुपमा रहेको गोकुल मार्ग र सूर्योदय मार्गसहित भित्री बाटो बन्द गरिएपछि इलामसँग जोड्ने सडक नै बन्द भएको छ । यहाँको बाटो बन्द भएपछि विशेषगरी इलामको रोङ गाउँपालिका ६ नम्बर वडाबासीलाई प्रत्यक्ष असर पर्ने गर्छ ।

प्रतिकृया दिनुहोस्