News Portal

एमाले मेचीनगरमा मेयर र उपमेयरका उम्मेद्वार छानिए

रातोपोस्ट संवाददाता
४९१ पटक

झापा, २६ चैत । नेकपा एमालेका तर्फबाट स्थानीय तहको निर्वाचनका लागि मेयर पदका आकांक्षी उम्मेद्वारहरुको मतगणनाको नतिजा धमाधम आउन थालेको छ । मेचीनगरको मेयरका लागि भएको आन्तरिक मतदानमा प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकी, निलकण्ठ तिवारी र मिना पोखरेल उप्रेतीको नाम अग्रस्थानमा रहेको एमाले झापाका सहइन्चार्ज रविन कोइरालाले बताए ।

उनले पार्टीको विधान अनुसार मेयरमा २ पुरुष र १ जना महिलासहित ३ जनाको नाम सिफारिस गर्नु पर्ने बताए । मेयर पदमा प्रदेश १ का सांसद एवम् एमाले प्रदेश कमिटि सदस्य गोपालचन्द्र बुढाथोकी, एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालिन काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई र एमाले प्रदेश कमिटि सदस्य एवम् तत्कालिन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारी आकांक्षी देखिएका थिए ।

त्यस्तै मेचीनगरको उपप्रमुखमा रमा भण्डारी, ऋषीराज तिम्सिना र कल्पना ओलीले बढी मत पाएका छन । कार्यकर्ताले दिएको मतका आधारमा सर्वाधिक मत प्राप्त गरेका मध्ये नगरप्रमुखमा एक महिला सहित तीन जना र उपप्रमुखमा पनि एक महिला सहित तीन जनाको नाम जिल्ला पार्टी कार्यालयले केन्द्रमा सिफारिस गर्ने एमाले केन्द्रीय सदस्य तथा निर्वाचन समिति संयोजक कोइरालाले जानकारी दिए । सिफारिस भएका मध्येबाट केन्द्रिय समितिले प्रमुख र उपप्रमुखको उम्मेद्वार निर्णय गर्ने कोइरालाले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्