News Portal

एमालेका क्षेत्रीय संयाेजक घिमिरेद्वारा पार्टी परित्यागको घोषणा

रातोपोस्ट संवाददाता
७१८ पटक

झापा, २८ चैत । नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका छन् । स्थानीय तह निर्वाचनको ३० दिन बाँकी रहँदा एमाले झापा एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नम्बर १ समन्वय कमिटिका संयोजक समेत रहेका नेता घिमिरेले एमाले परित्यागको घोषणा गरेका हुन् ।

तत्कालीन काँकरभिट्टा गाविसको अध्यक्षको जिम्मेवारी सम्हाली सकेका घिमिरेले पार्टी छोड्ने घोषणासँगै एमाले झापाका तरङ्ग उत्पन्न भएको छ। काँकडभिट्टा निवासी नेता घिमिरेले पार्टी निर्माण र सङ्गठन बिस्तारसँगै समाजसेवामा सक्रिय थिए। पार्टीले आफ्नो योगदानको कदर नगरेपछि आफूले पार्टी छोडेको नेता घिमिरेले बताए। उनले अहिले बिहान ९ बजे काँकडभिट्टामा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको औपचारिक घोषणा गर्दै छन् ।

नेता घिमिरे वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुखको आकाङक्षी हुन् । उम्मेदवार छनोटका लागि भएको पार्टीको आन्तरिक चुनावमा घिमिरे नछानिएपछि थप असन्तुष्ट बनेका छन् ।

उम्मेदवार छान्ने पार्टीको आन्तरिक निर्वाचनमा स्थानीय तथा केन्द्रीय नेताहरुले आफू विरुद्ध घेराबन्दी र षड्यन्त्र गरेको नेता घिमिरेको दाबी छ । आफूलाई छेक्ने षड्यन्त्र भएपछि एमाले परित्याग गर्न आफू बाध्य भएको घिमिरेले बताए।

प्रतिकृया दिनुहोस्